यातायात व्यवसायीको माग सम्बोधन गर्न सरकारले बनायो कार्यदल

Share this
815shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १९, सोमबार १७:४३

काठमाडौं । यातायात व्यवसायीले उठाएका माग वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ । आज (सोमबार) गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारका तर्फबाट कार्यदलमा छन् ।

आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरसहित आठ जना कार्यदलमा रहेका छन् भने गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य कार्यदलको सदस्य सचिव छन् ।

बैठकले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकार सकारात्मक रहेको सन्दर्भमा बन्द लगायतका कार्यक्रम फिर्ता लिन आन्दोलनरत यातायात व्यवसायीसित अनुरोध समेत गरिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

कार्यदलका सदस्य सचिव रवीन्द्र आचार्यले कार्यदलले छलफल सुरु गरिसकेको जानकारी दिए । गृह मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव एकनारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.