
काठमाडौं । भिजिट भिसा प्रकरणमा संलग्नताको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा नदिएसम्म संसद चल्न नदिने भनेर अडान राख्दै आएका विपक्षी दलहरू पछि हटेका छन् ।
उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै जेठ १२ गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएका थिए । तर उनीहरुले प्रतिनिधिसभाको आज (मंगलबार) को बैठक चल्न दिने भएका छन् । भिजिट भिसा प्रकरणमा छानबिनका लागि सरकार तयार हुनु पर्ने उनीहरुको शर्त छ ।
भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका गृहमन्त्री लेखकले सदनमार्फत् धारणा व्यक्त गर्न सभामुखसँग पटकपटक समय लिए पनि विपक्षीले बोल्न दिएका थिएनन् ।
आज भने विपक्षी दलहरूले गृहमन्त्रीलाई बोल्न दिने भएका छन् । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
सभामुख देवराज घिमिरले सदनको अवरोध खुलाउने प्रयास स्वरूप आज बिहान प्रमुख दलहरूको संयुक्त बैठक बोलाएका थिए । त्यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेर छलफल गरेका थिए ।

























