
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी, स्थायी समिति र केन्द्रीय समितिको आकार बढेको छ । जेठ १२ गते माओवादी र नेपाल समाजवादी पार्टी (नेसपा) गंगानारायण श्रेष्ठ समूहबीच एकता समायोजन भएपछि सबै कमिटीको आकार बढेको हो ।
माओवादीको पदाधिकारी बैठकले एकता प्रक्रियामा जोडिएका नेसपाका सह–अध्यक्ष श्रेष्ठलाई सचिवको जिम्मेवारी र नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय प्रकाश सैँजुलाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको थियो ।
माओवादीले जारी गरेको परिपत्रमा श्रेष्ठ समूहको १४ जनाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् । जेठ १२ गते नै नेपाः राष्ट्रिय पार्टीबाट माओवादी केन्द्रमा विलय भएसँगै विष्णुभक्त गोपाली (काठमाडौं), लक्ष्मी प्रकाश सैंजु (काठमाडौं), सुदिल शाही (काठमाडौं) र प्रमोद घिमिरे (रौतहट) ले पनि केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् ।
विगतमा एकता प्रक्रियामा जोडिएका तर परिपत्रमा नाम आउन बाँकी रहेका ठाकुर ढकाल, चितवन र प्रेम बिसी, कैलालीलाई केन्द्रीय समितिको जिम्मेवारी दिएको छ ।
माओवादीले गएको पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार अध्यावधिक भएको नामावली चार सय ९ जना छन् । २०८० फागुनमा सम्पन्न प्रथम विधान अधिवेशनले पनि २९९ सदस्य केन्द्रीय समिति रहने निर्णय गरेको थियो ।
महाधिवेशन नभएकाले केन्द्रीय समितिको हकमा नयाँ विधान लागु भइसेको छैन । त्यसैले पछिल्लो पटक थपिएका २२ जना केन्द्रीय सदस्य गरी चार सय ३१ जना केन्द्रीय सदस्य भएका छन् । माओवादीको अन्तरिम विधान–२०७८ अनुसार पदाधिकारी कति रहने भनेर निश्चित गरिएको छैन । केन्द्रीय समिति संख्या २९९ जना रहने उल्लेख छ ।
अहिले माओवादीको अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ६, सचिव ९ र कोषाध्यक्ष १ गरी २२ जना पदाधिकारी, स्थायी समिति सदस्य ४३ जना छन् ।
एकता समायोजनपछि पदाधिकारी २४ जना र स्थायी समिति सदस्य ४६ जनाको भएको छ । माओवादीले यसअघि पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्ष बनाइसकेको छ ।
‘पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्रावधान रहेकोमा पार्टी एकता, समायोजन र ध्रुवीकरणको आवश्यकता र महत्वलाई ध्यानमा राखी आगामी केन्द्रीय समितिको बैठक र महाधिवेशनप्रति जबाफदेही हुने गरी उक्त प्रावधानलाई तत्काल निष्क्रिय बनाउने’, परिपत्रमा उल्लेख छ ।
























