
मलंगवा । पूर्व–पश्चिम राजमार्गमा टिपरले ठक्कर दिँदा मंगलबार दिउँसो १ जना प्रहरीको मृत्यु भएको छ ।
सर्लाहीको ईश्वपुर नगरपालिका–५ फूलजोर चोकमा ना १ क ८५२० नम्बरको टिपरले ठक्कर दिँदा प्रहरी जवान मीनबहादुर दानीको मृत्यु भएको हो । बाजुराको बडीमालिका नगरपालिका–६ का ३० वर्षीय दानी बीआर ०१ एफ जे ६९६१ नम्बरको मोटरसाइकलमा सवार थिए ।
उनी सवार मोटसाइकललाई दिउँसो १ बजेतिर टिपरले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल लगिएको थियो ।
थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पुर्याउनसाथ चिकित्सकले मृत घोषणा सर्लाही प्रहरीका डीएसपी सरोज राईले बताए । राईका अनुसार दानी मलंगवा नगरपालिका–३ घर भएका मुस्लिम आयोगका सदस्य मोहम्मद सम्सुल हकको पीएसओ (अंगरक्षक) हुन् ।
दानीको दरबन्दी नेपाल प्रहरीको सशस्त्र प्रहरी गण काठमाडौंमा जनाइएको छ । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























