विपद कोषमा ४ अर्ब मौज्दात, कोशीमा ६ करोड

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १५:३४

काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको जनाएको छ । त्यसमध्ये कोशीमा ६ करोड, ९० लाख, मधेसमा ११ करोड ७८ लाख रुपैयाँ मौज्दात रहेको जनाइएको छ ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८९ करोड २९ लाख, केन्द्रीय विपद् व्यवस्थापन कोषमा १ अर्ब २७ करोड ४७ लाख, प्रदेश विपद् व्यवस्थापन कोषमा ७९ करोड ४१ लाख मौज्दात छ ।

कोशीमा ६ करोड, ९० लाख, मधेसमा ११ करोड ७८ लाख, बागमतीमा ७ करोड ५८ लाख, गण्डकीमा २५ करोड, लुम्बिनीमा ६ करोड ५० लाख, कर्णालीमा ९ करोड ५२ लाख र सुदूरपश्चिम प्रदेशमा ११ करोड ८९ लाख मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बाँस्तोलाले ७७ वटै जिल्लाका कोषमा ६९ करोड पाँच लाख मौज्दात रहेको जानकारी दिए ।

प्राधिकरणले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक तयारी तीव्र गरिएको र विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकेको उनले बताए ।

उनले भने, ‘सबै क्लष्टरलाई आपतकालीन अवस्थाका लागि पूर्ण तयारीसहित जिम्मेवारी तोकिसकिएको छ । विपद्का घटना भइहाले तत्काल परिचालन हुने गरी सबै तयारीका काम सकिएको छ ।’

कोषमा मौज्दात रहेको रकम आपतकालीन अवस्थामा आवश्यकता अनुसार तत्काल परिचालन हुने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.