विश्व वातावरण दिवसमा विराटनगरमा प्रभातफेरी (फोटो फिचर)

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार ११:०७

विराटनगर । विश्व वातावरण दिवसका अवसरमा विराटनगरमा बिहीबार बिहान प्रभातफेरी निकालिएको छ ।

विराटनगर महानगरपालिकालगायत विभिन्न संघसंस्थाको सहयोगमा गोल्स फाउन्डेसनले प्रभातफेरिको आयोजना गरेको हो ।

‘प्लास्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी ट्राफिक चोक, मेनरोड, महानगरपालिका हुँदै शनिहाट चोकबाट वीरेन्द्र सभागृहमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा सहभागीहरूले ‘प्लास्टिक प्रयोग कम गरौं, जीवन बचाऔँ, सोचौँ हरियो, हरियो बिरुवा रोपौँ, पृथ्वी जोगाउने हाम्रो दायित्व, विश्वलाई प्लास्टिक मुक्त बनाऔँ, ‘स्वास्थ्य जीवनको आधार, सफा वातावरण, स्वच्छ विचार’, भन्ने सन्देश मूलक प्ले–कार्ड बोकेका थिए ।

प्रभातफेरीपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विश्वमै अहिले वातावरणमा ठुलो समस्या आइरहेको बताए । उनले विश्वमा तापक्रम बढ्दै जानु, अक्सिजन कमी हुनु र जलवायु परिवर्तन हुँदा समय अनुसारको मौसम नहुनु जस्ता समस्या दिनानुदिन बढ्दै गएको बताए ।

‘उद्योगहरूबाट निस्कने धुवाँले वातावरणमा ठुलो असर पुर्‍याइरहेको छ । अझ पश्चिमा देशका उद्योग, कलकारखानाले झन् बढी वातावरणमा असर पुर्‍याएको तथ्यांकहरुले देखिइरहेको अवस्थामा हामीले यसबाट जोगिन बोटबिरुवाको संरक्षण र संवद्र्धन गर्न जरुरी छ,’ कोइरालाले भने ।

उनले वातावरण जोगाउनलाई प्लास्टिकको प्रयोग कम गर्नुपर्ने, बोटबिरुवाको संरक्षणमा ध्यान दिनुपर्ने, एउटा घरमा कम्तीमा २ वाट रूख रोप्नुपर्ने, एउटा रूख काट्नुअघि अर्को बिरुवा रोप्नुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.