
विराटनगर । सशस्त्र प्रहरीका २ जना गोताखोरलाई सप्तकोशी नदीले बगाएको छ । उद्धार अभ्यासका लागि गएका सशस्त्र प्रहरी जवानहरु सुरज साउद र हरदेव राजवंशीलाई बिहीबार दिउँसो सप्तकोशीले बगाएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपद्मा परेकाहरूलाई उद्धार गर्नका लागि उद्धार अभ्यास गराएको थियो । गोताखोरसहितको टोलीले अभ्यास गर्ने क्रममा २ जनालाई नदीले बगाएको बताइएको छ ।
सुनसरी र सप्तरीको बीचमा पर्ने सप्तकोशी नदीमा विपद् उद्धारको अभ्यास गरिरहेका बेला घटना भएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार विपद्मा परेका व्यक्तिहरुलाई कसरी उद्धार गर्ने भन्ने अभ्यास चलिरहेका बेला घटना भएको हो ।
नदीमा बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । विभिन्न युनिटबाट प्रहरी परिचालन गरेर खोजी जारी राखिएको एसपी खतिवडाले बताए । घटनास्थलमा सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु पनि पुगेका छन् ।

























