
विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले किसानहरूलाई कृषि औजार वितरण गरेको छ ।
नगरपालिकाले एक कार्यक्रमकाबीच १ करोड १० लाख मूल्य बराबरको कृषि औजार किसानलाई वितरण गरेको हो ।
रतुवामाई नगरपालिकाको ५० प्रतिशत अनुदान तथा किसानहरूको ५० प्रतिशत साझेदारीमा पालिकाले कृषि उपकरण प्रदान गरेको छ ।
पालिकाको १० वटा वडाका १ सय ६० कृषक समूह तथा कृषि फर्महरूलाई कृषि औजार तथा उपकरण दिइएको छ । पालिकाले कृषिमा प्रयोग हुने १ सय ५० थान च्यापकटर मेसिन, २० थान स्प्रेटेंकी, १ सय १२ थान मकै छोडाउने मेशिन, १ सय ६५ थान मकै रोप्ने मेसिन वितरण गरेको हो ।
पालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद बरालले किसानहरूलाई उपकरण वितरण गरेका थिए । पालिकाको कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई कृषि उपकरण वितरण बताइएको छ ।
पालिकाका अधिकांश मानिस कृषिमा आधारित भएकाले कृषिमा व्यवसायीकरण गर्न तथा कृषि उत्पादन वृद्धि गर्न सहज होस् भन्ने उद्देश्यले कृषि उपकरण वितरण गरिएको पालिकाका प्रमुख सिंहले बताए ।
यसरी करोडौँ मूल्य पर्ने उपकरण वितरणले कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमा सहयोग पुग्ने पालिकाले जनाएको छ ।























