
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले विभिन्न बहानामा प्रमुख प्रतिपक्षी दलका नेतालाई निसाना बनाइरहेको आरोप लगाएका छन् ।
नियतवश प्रतिपक्षी दलका देनामाथि आक्रमण भइरहेको उनको भनाइ छ । वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिपक्षी दलका नेतालाई छानीछानी बदलाभाव देखाएको नेता गुरुङले बताए ।
सत्तापक्षीय नेताहरुमाथि प्रश्न उठ्दा भने संरक्षण दिने काम भइरहेको उनको भनाइ छ । आज (शुक्रबार) संवाद डबलीलले काठमाडौंमा आयोजना गरेको अन्र्तक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्दा दायर गरिनु, रास्वपा सभापति रवि लामीछानेमाथि कानुनी डण्डा बर्षाउनु, कुलमान घिसिङलाई हटाउने, बालेन शाहलाई चलाई राख्नु प्रतिशोध र बदलाभाव हो’ उनले भने ।
महासचिव गुरुङले पार्टीका उपाध्यक्ष अग्नि सापकोटा र नेता सूर्यमान दोङ लगायतमाथि लगाइएको मुद्दालाई नियमित अदालतले भन्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट सुल्झाउनुपर्ने धारणा राखे ।
























