चाहे तिमी…

Share this
685shares
मुलुकी खबर
दिपक कटुवाल
clock२०८२ जेठ २४, शनिबार ११:४२

आँखाभरि टिलपिल आँशु पार्दै
मायाको भीख मागेको त्यो दिन
मलिन अनुहार भारी मुटु पार्दै
तिम्रो ओठबाट निस्केका मायालु वचनहरु
अझै मेरो मस्तिस्कमा गुञ्जिरहँदा
तिमी शहरको रमझममा पक्कै भुलिने छैनौ
चाहे तिमी पराइकै अँगालोमा बाँधिएकी किन नहोऊ

ठेलामा बेच्न राखिएको चटपटे खाने बहानामा
मुस्काउँदै मेरो यात्राहरु पछ्याउने तिम्रो चाहना
हेर्दाहेर्दै समयले कोल्टे फेरेको वर्षौं भइसकेछ
साँच्चै अब त चटपटे खान पक्कै छाडेउ होला
सुन्दैछु अचेल शहरको आइसक्रिम पार्लरतिर पो धाउँछौ रे
तर जे होस् तिमीले चटपटेको स्वाद भुल्न सक्दिनौ
चाहे तिमी आइसक्रिम पार्लर धाउने नै किन नहोऊ

मैले चढ्ने गाडीको साइरन धुन सुन्दा मात्रै नि
तिमी भन्ने गर्थ्यौ मेरो मुटु चल्न थाल्यो
तर अब विस्तारै साइरनको धुन पनि बिर्सने भयौ
किनकि तिमी साइरन नबज्ने शहर जाँदै छौ रे
परिस्थितिले तिमीलाई शहर बस्ने बनाउदै गर्दा
साइरनको धुनसँगै जोडिएको हाम्रो सम्वन्ध पक्कै भुल्ने छैनौ
चाहे तिमी शहरमा चिल्लो कारमा धाउने नै किन नहोऊ

दुःख पीडा पर्दा रिसाउादै भए नि सुनाउने तिम्रो बानी
साँच्चै अनौठो र मायालु लहडको नमुना नै थियो
घुर्की लाउँदा लाउँदै घमण्ड देखाएर निदाउने त्यो रुप
एउटा प्रेम कहानीको महाकाव्यको कथा नै थियो
हो अब घमण्ड देखाउँदै घुर्की लाएर कसलाई पीडा पोख्छौ
किनकि दिल खोलेर पीडा सुनिदिने म जस्तो कोही भेट्ने छैनौ
चाहे तिमी बाध्यताले अरुकै हात समाएर हिँड्ने किन नहोऊ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.