महिला सीपमा पन्चेबाजाको धुन

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ जेष्ठ २४, शनिबार २०:५१

विराटनगर । कुनै पनि पेशा जात, लिङ्ग वा समुदायको मात्रै हुन्छ भन्ने धारणा पुरानो हुँदै जान थालेको छ । यसको एउटा उदाहरण हो– महिलाहरुको सीपमा बज्ने पन्चेबाजा।

पछिल्लो समय विभिन्न जिल्लामा हुने कार्यक्रमहरुमा महिलाको समहूले पन्चेबाजा बजाउने गरेका छन्। यस्तै एउटा समूह विराटनगरमा पनि छ ।

Advertisement

विराटनगर–४ की भीमा पोखरेलको नेतृत्वमा रहेको ‘नमुना नौमती महिला पन्चेबाजा समूह’ का महिलाहरू विगतमा जातसँग जोडिएको परम्परागत बाजा विभिन्न शुभ कार्यहरूमा बजाउँदै आइरहेका छन् ।

पुरुष, त्यो पनि प्रायः दलित समुदायले मात्र बजाउने मानिने पन्चेबाजा अचेल महिलाहरूले बजाउने गरेका छन् ।

समूहकी भीमा पोखरेल भन्छिन्, ‘प्रविधिको विकाससँगै लोप हुँदै गइरहेको नेपाली सांस्कृतिक बाजालाई जगेर्नाागर्नुपर्छ भन्ने सोच आयो । अनि बाजा सिक्ने इच्छा जाग्यो ।’ जातीय छुवाछूत विरुद्धको सन्देश दिनु पनि यसको उद्देश्य भएको उनी बताउँछिन् ।

सुरुवात सहज थिएन । तालिमको प्रस्ताव महानगरपालिकामा दिँदा महानगरकी कर्मचारी अनिताले सहयोग त गरिन्, तर तालिम लिने महिला पाउन निकै कठिन भयो । ‘घरघर गएँ, सम्झाउँदै केहीलाई मनाउन सकेँ,’ भीमा सम्झन्छिन्, ‘शुरुमा ६ जना मात्रै भए । पछि बढ्दै गए, अनि तालिम सुरु भयो ।’

महानगरबाट तालिम लिएपछि उनीहरू मोरङ, झापा, उदयपुरलगायत जिल्लामा विवाह, पूजापाठ जस्ता शुभकार्यहरूमा पन्चेबाजा बजाउन जाने गरेका छन् । आम्दानी मासिक २५ हजारदेखि ४५ हजारसम्म हुने गरेको भीमा बताउँछिन् ।

५२ वर्षीया भीमाको जीवनको लय बदलिएको छ । कहिले नबजाएको पन्चे बाजा परिवारको साथ पाएपछि बजाउन थालिन् । आफ्नो समूहसहित शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा बाजा बजाउन पाउँदा गौरव अनुभव भएको उनले सुनाइन् ।

त्यही समूहकी सदस्य उमादेवी ठकुरी सुरुमा बाजा छुन पनि डराउँथिन् । ‘दलितले बजाउने बाजा भनेर डर लाग्थ्यो’ उनी भन्छिन्, ‘तर त्यो सोच त हामीले नै बनाएको रहेछ । अहिले यही कामबाट आत्मसन्तुष्टि पनि मिलेको छ, अनि घर खर्च पनि चलेको छ ।’

सपना ठकुरी पनि सुरुमा दोधारमा थिइन्– सिक्ने कि नसिक्ने ? सिक्दै जाँदा बाजासँगै आत्मविश्वास पनि बढ्यो । अनि सँगगँगै आत्मनिर्भरता पनि ।

यी महिलाहरूको प्रयासले परम्परागत सांस्कृतिक विद्यालाई आर्थिक र सामाजिक सशक्तीकरणसँग जोड्ने नयाँ अभ्यासको थालनी गरेको सरोकारवालाहरू बताउँछन् । जात र लिङ्गको सीमामा बाँधिएको सांस्कृतिक अभ्यासमा अब समावेशिता र समान अवसरको सम्भावना देखिन थालेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.