
काठमाडौं । काठमाडौंमा आज (आइतबार) देखि राष्ट्रिय ललितकला प्रदर्शनी सुरु भएको छ । प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत गरी ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ मा कोशी प्रदेशका ८२ कलाकारका ८२ वटै कलाकृति राखिएका छन् ।
यसैगरी प्रदर्शनीमा मधेस प्रदेशबाट ८८ कलाकारका ९८, बागमती प्रदेशबाट १६४ कलाकारका १८३, गण्डकी प्रदेशबाट ५३ कलाकारका ५५, लुम्बिनी प्रदेशबाट ६५ कलाकारका ६६, कर्णाली प्रदेशबाट ४० कलाकारका ४१, सुदूरपश्चिम प्रदेशबाट ३९ कलाकारका ३९ कलाकृति राखिएका छन् ।
प्रदेशगत रुपमा छुट्टा छुट्टै ‘ग्यालरी’ राखिएको छ । प्रदर्शनीमा अप्रतियोगी अन्तर्गत ४५ र आमन्त्रित ३३ गरी ७८ कलाकारका ७९ कलाकृति समावेश रहेको आयोजकले जनाएको छ ।
यसैगरी, विधागत रूपमा समसामयिक चित्रकलाका २०१ कलाकारका २०८, परम्परागत चित्रकलाका ७२ कलाकारका ७३, समसामयिक, आधुनिक मूर्तिकलाका ५१ कलाकारका ५२ कलाकृति राखिएको छ ।
परम्परागत मूर्तिकलाका १६ कलाकारका १८, वास्तुकला तथा लोककलाका ८४ कलाकारका ८८, शिल्प–हस्तकलाका ७४ कलाकारका ७९, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत छविकलाका ४५ कलाकारका ५९ कलाकृति राखिएको छ ।
यस्तै, प्रतिस्थापन कलाका ९ कलाकारका ९, कार्टुनका १३ कलाकारका १४, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका एक कलाकारको एक, भावभङ्गी कलाका २ वटा कलाकृति प्रदर्शनीमा राखिएका छन् ।

























