
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा महासंघको सभाहलमा सोमबारदेखि ७ दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारको क्षमता विकासको काम आगामी आर्थिक वर्षदेखि सञ्चार प्रतिष्ठानले गर्ने जानकारी दिए ।
मन्त्री भण्डारीले असारसम्ममा सञ्चार विधेयक पास गरिनेसमेत बताए । पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकारले काम गरिरहेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेल, कोशी प्रदेश अध्यक्ष भरत खड्का, मोरङ अध्यक्ष सुशीला पाठक, नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष बन्धु पोखरेल, सल्लाहकार नवराज कट्टेल, प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल, प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापा, प्रेस सेन्टर मोरङ अध्यक्ष नवीन कर्ण, प्रेस मञ्च मोरङ अध्यक्ष मुकेश यादवले शुभकामना मन्तव्य राखेका थिए । असार १ गतेसम्म सञ्चालन हुने तालिममा ३३ जनाको सहभागिता छ ।
























