
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यो साता पूर्वमा भएका केही कार्यक्रममा सहभगी हुन आएकी थिइन् । उनी विराटनगरमा भएको स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलनमा सहभागी भइन् । झापामा भएको विद्यार्थीको विज्ञान प्रदर्शनीमा पनि सहभागी भइन् ।
दुवै कार्यक्रम उनले उद्घाटन गरिन् । यस क्रममा उनले नेता कार्यकर्तासँग भेट र छलफल पनि गरेकी छन् । उनले देशका विभिन्न ठाउँमा भ्रमण गरिरहँदा काठमाडौंमा असर परेको देखिन्छ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कतिपय नेता गुटबन्दी गर्दै हिंडिरहेको भनेर टिप्पणी गरेका थिए ।
ओलीको उक्त भनाइ भण्डारीप्रति लक्षित हो भनेर चर्चामा आइरहेको छ । यसैबीच, मंगलबार बिहान विराटनगर विमानस्थलमा यहाँका सञ्चारकर्मीहरुले उनीसँग सामूहिक संवाद गरेका छन् । प्रस्तुत छ, उक्त संवादको सम्पादित अंशः
तपाई पूर्वमा आउँदा काठमाडौंतिर भुइँचालो किन जान्छ ?
म पूर्वमा दुईवटा कार्यक्रममा सहभागी हुन आएको हो । एउटा जनप्रतिनिधि महिलाहरुको राष्ट्रिय सम्मेलन अनि अर्को विद्यार्थीहरुको विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी हुन आएको हो । राम्रो कुराको प्रचारप्रसार हुन्छ भने त्यस्तो कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्छ भनेर आएको हो ।
सक्रिय राजनीतिमा अब आइसक्नु भएको हो ?
ठाउँसँगको नाता र समाजसँगको नाताका कारणले घुमफिर, अन्तरक्रिया गर्ने कुरा हुन्छ । म नेकपा (एमाले) ले प्रस्ताव गरेर अरु वापमन्थी र क्षेत्रीय पार्टीहरुले समर्थन गरेर राष्ट्रपति बनेकी हुँ । त्यसबेला अहिले जुन गठबन्धन छ, एमाले र नेपाली कांग्रेसको तर कांग्रेसले मलाई कहिले पनि भोट दिएन । राष्ट्राध्यक्ष त एकजना हुने हो, जित्ने स्थिति थिएन, सर्वसम्मत गराउँदा के हुन्थ्यो र ? त्यसैले धारको कुरा गर्दा म वामपन्थी भित्रको एउटा खास धारबाट प्रभावित भएकी हुँ । अहिले विद्या भण्डारी पार्टीगत राजनीतिमा आउँदा के होला, कहाँ जाने होला भन्ने प्रश्न होला कतिपयमा । यही कारण चासो देखिएको छ । पार्टीगत रुपमा हेर्दा म जुन पार्टीमा आबद्ध भएँ र जुन पार्टीको पहलमा यहाँसम्म पुगें, यो बिर्सन सकिंदैन । त्यो छाडेर अन्यत्र जाने कुरा हुँदैन ।
जहाँसम्म राष्ट्रिय राजनीतिमा आउने कुरा हुन्छ… राष्ट्रिय राजनीतिमा आउने कुरामा नेपाली विशेषताको समाजवादी अवधारणलाई कार्यान्वयन गर्नु र मुलुकको समृद्धिका लागि काम गर्नु पर्छ । न्यायपूर्ण समाज निर्माण गर्ने कुरा छ । यस हिसाबले राष्ट्रिय राजनीतिबाट कोही अलग छ भन्ने हुँदैन । सबैले आ–आफ्नो क्षेत्रबाट यसप्रति चासो देखाएकै हुन्छ । को कति हदसम्म प्रत्यक्ष वा अप्रत्यक्ष भन्ने मात्र हो । सबैले मुलुकको समृद्धिका लागि यसमा चासो राख्नु पर्छ पनि ।
पछिल्लो गतिविधिले गर्दा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा गुटबन्दी गरेर मान्छेहरु हिंडिरहेको भन्नुभएको छ, तपाईं पनि गुटबन्दी गर्दै हिंड्नु भएको हो ?
नेकपा (एमाले) का वर्तमान अध्यक्ष केपी शर्मा ओलीले मलाई नै तोकेर ताकेर भन्नु भयो भन्ने लाग्दैन । म पहिलेदेखि नै मूलधारको राजनीतिमा लागेको मान्छे मलाई गुटबन्दी गर्यो वा के गर्यो भन्न उहाँले मिल्दैन । त्यस्तो नहुन सक्छ । यो तपाईंहरुले गलत अर्थ लगाउनुभयो भन्ने मलाई लाग्छ । सक्रिय राजनीतिमा आउँदा अध्यक्ष म हुने कुराले अरु आकांक्षीहरुलाई पनि मनमा केही प्रश्न उठाएको हुन सक्छ नि त । त्यसैलाई भनेको हो कि ? तपाईंहरु खाली मैतिरमात्र केन्द्रित हुनुहुन्छ । मैले त्यस्तो कुनै व्यक्तिगत आकांक्षा त राखेको छैन । म राष्ट्रिय आकांक्षा पूरा गर्न जहाँ जसरी हुन्छ काम गर्ने हो ।
पार्टीको आगामी नेतृत्वमा तपाईं अहिलेका अध्यक्षको प्रतिस्पर्धी भनेर पनि चर्चा भइरहेको छ…
नेकपा एमालेका अध्यक्षज्यूले विद्या भण्डारीलाई प्रतिस्पर्धी देखेर यस्ता धारणा राखिरहनु भएको छ भन्ने मलाई पटक्कै लाग्दैन । उहाँले भनेको के हुन सक्छ भने, मैले विश्लेषण गर्दा, महाधिवेशन आउँछ । त्यसमा नेतृत्व निर्माण हुन्छ । त्यसो हुँदा तिमीहरु चिन्ता नगर, हामी मिलाएर गर्छौं भनेर कार्यकर्तालाई आश्वस्त पार्न खोजेको हुन सक्छ ।
अध्यक्षको भनाइको आशय त उहाँलाई जानकारी गराएर मात्र हिंड्नुपर्छ भन्ने जस्तो पनि लाग्छ नि ?
म देशको राष्ट्रपति भइसकेको मान्छे । पार्टीगत हिसाबले भन्ने हो भने पनि मैले संगठित सदस्यता लिनुभन्दा अगाडिदेखि नै पार्टीमा काम गरेको । समाजका अरुअरु क्षेत्रहरुसँग पनि परिचित हुँ । देशको एउटा परिचित व्यक्ति भएको हुनाले कार्यक्रमहरुमा बोलाउनु स्वाभाविकै हुन्छ । मैले पनि समाजसँग साक्षात्कार त गर्दै गर्नु पर्यो । भेटघाट गर्दै गर्नु पर्यो । के छ समाजको अवस्था, युवा पुस्ता के भन्छन् भन्ने बुझ्नुपर्छ । त्यो हिसाबले म देशभित्र घुमफिर गर्न मैले पार्टीको, नेताहरुको अनुमति लिइरहनु पर्दैन ।
नयाँ नेतृत्वको आवश्यकता देखिएको हो देशमा ?
म बुझ्दैछु । अहिलेको प्रणालीमा जनता सन्तुष्ट छन् । स्वतन्त्रता छ । पहिलेभन्दा धेरै राम्रो छ । अहिले संसार जसरी विकास भइरहेको छ नि, त्यसको असर यहाँसम्म आइपुग्छ । नयाँ पुस्ताले त्यसलाई हेरिरहेका हुन्छन् । त्यसैअनुसारको अपेक्षा पनि हुन्छ । त्यसैले हामीले नयाँ पुस्ताको भावना बुझ्नुपर्छ । अहिलेको पुस्ता यसै निस्क्रिय बस्न चाहँदैन । चाँडै विकास होस् भन्ने उनीहरुमा चाहना छ । त्यसैले पनि उनीहरुको कुरा बुझ्नैपर्ने अवस्था छ ।
तपाईं चीनबाट फर्किएपछि वाम एकताको चर्चा आइरहेको छ, यसको नेतृत्व गर्दै हुनुहुन्छ भन्ने पनि चर्चा सुनिन्छ नि…
नेपालमा वाम एकताको निकै पहिलेदेखि चर्चा परिचर्चा छ । समयक्रम र आवश्यकता अनुसारको कुरा त हो । तर यसअघि वाम एकता गरे पनि अहिलेसम्म टिकेको छैन । त्यसैले म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त छैन । विश्वासको ठूलो संकट छ पार्टी पार्टीहरु बीचमा । नेतृत्वको कुरा बाहिर ककसले केके भनिरहेका हुन्छन् त्यो खासै ठूलो कुरा भएन । अहिले त्यस्तो छैन । बरु वामपन्थी मात्र होइन राष्ट्रिय एजेन्डामा छलफल गरेर अरु, अहिलेका नयाँ पार्टीसँग पनि सहकार्य गर्दा मुलुकको समृद्धिका लागि राम्रो हुन सक्ला भन्ने लाग्छ ।
























