
विराटनगर । विराटनगरसहित तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तापक्रम बढेसँगै सर्वसाधारणलाई घर बाहिर निस्किन समस्या समेत भइरहेको छ ।

तापक्रम बढ्दै गएपछि मान्छेहरू शीतलको खोजीमा छन् । दिउँसोको तापक्रम ३९ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ । विराटनगरका बासिन्दा छाता ओढे आउजाउ गरिरहेको देखिन्छन् ।
आइसक्रिम खाने, टाउको छोप्ने छहारीमा सुत्ने साथै हाते पंखा प्रयोग गर्ने गरिरहेका छन् । कोशी अस्पताललगायत विराटनगरका स्वास्थ्य संस्थाहरुमा अत्यधिक गर्मीको असरले बिरामी भएकाहरु उपचारका लागि आउने क्रम बढेको पाइएको छ । खासगरी वृद्धवृद्धालाई बढी समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

कतिपयले अत्यधिक गर्मीका कारण बालबालिकाहरु पनि बढी प्रभावित भएको भन्दै केही दिनका लागि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् ।
विराटनगर–४ की कविता गुरागाईँ घरैमा पनि गर्मीले बसिनसक्नु अवस्था भइरहेका बेला स्कुल पठाएका छोराछोरीको चिन्ता लाग्ने गरेको बताउँछिन् । ‘यस्तो चर्को गर्मीमा केही दिन बिदा दिए राहत हुने थियो’ उनले भनिन्, ‘बिरामी पर्लान् भन्ने पीर भइरहेको छ ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ ।
कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाखाले जनाएको छ ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुना झाका अनुसार गर्मीका कारण सर्पदंशका बिरामीको संख्या बढिरहेको छ । झाडापखाला र ज्वरोको बिरामी पनि उपचारका लागि आउने गरेको उनको भनाई छ ।
आइसक्रिम व्यवसायी सदानन्द साह गर्मी बढेसँगै आफ्नो व्यापार पनि बढेको बताउँछन् । धेरै जस्तो ‘बदाम सेक’ को माग बढेको उनको भनाई छ । २–३ दिन देखि गर्मी धेरै बढेकाले दिउँसोको समयमा ग्राहक कम हुने उनको भनाइ छ ।
अत्यन्त जरुरी काम नपरी बजार जान समेत नसकिने खालको चर्को गर्मी रहेको स्थानीय बताउँछन् । विराटनगर–४ की सुशीला दाहालले नियमित सेवन गर्नुपर्ने औषधि नलिइ नहुने भएकाले आफू बजार आएको बताइन् । आफ्नो बस्ने क्षेत्रतिर रहेका मेडिकलमा उक्त औषधि नपाइएकाले बजारै आउनु परेको बाध्यता उनले सुनाइन् ।

























