
विराटनगर। नेकपा (एमाले) विराटनगर महानगर कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विराटनगरको विकासका बारेमा जानकारी गराउँदै बुधबार ज्ञापनपत्र बुझाएको छ।
महानगर कमिटीका अध्यक्ष बलराम गिरी (नवीन)का अनुसार कोशी प्रदेशको राजधानी विराटनगर भएपनि यहाँको विकासमा कसैले चासो नदिएपछि ज्ञापनपत्र बुझाइएको हो। उनले विराटनगरको डुबान समस्या, पूर्वाधार निर्माणलगायतका विषयमा ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बताए ।
ज्ञापनपत्रमा विराटनगर चक्रपथ, प्रदर्शनी केन्द्र, यातायात सुधार, क्रिकेट रंगशालाको स्तरोन्नति, केसलिया तटबन्द लगायतका विषय उठाइएको छ। एमाले विराटनगर सचिव विज्ञान चापागाईंले विराटनगरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि ज्ञापनपत्रको विषय महत्त्वपूर्ण हुने बताए ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले महानगरले उठाएका विषयलाई सम्बोधन गरेर सरकार अगाडि बढ्ने बताए ।
























