
विराटनगर । मोरङको बेलबारीमा सर्पले डसेर बिहीबार दिउँसो बालिकाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–५ सोमबारेकी ८ वर्षीया सन्ध्या रायमाझीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार बिहीबार दिउँसो ४ बजेतिर बालिकालाई सर्पले टोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गम्भीर घाइते बालिकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी चुँडालले दिइन् ।
‘घरमै सुतिरहेकी बालिकालाई सर्पले टोकेको जानकारी आएको छ,’ उनले भनिन्, ‘अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका छन् ।’ चुँडालका अनुसार बालिकालाई कुन प्रजातिको सर्पले टोकेको भन्ने यकिन छैन ।
यद्यपि, चिकित्सकले पनि बाकिलालाई सर्पले डसेको जानकारी दिएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























