जेलबाट निस्किएपछि ‘धम्क्याउँदै पैसा माग्दै’

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार ११:५०

विराटनगर । विराटनगरका सञ्जयप्रसाद रौनियार ‘मिन्टु’ मिटरब्याजको नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा जेलमा थिए । करोडौं असुल गरेको आरोपमा उनी २ वर्ष जेलमा बसे ।

हालै सफाइ पाएर उनी जेलमुक्त भए । जेलबाट बाहिर आएपछि फेरि उनले धम्क्याउँदै सर्वसाधारणबाट पैसा असुल्ने गरेको पाइएको छ । मोरङ जिल्ला अदालतबाट ठगी र आपराधिक लाभको मुद्दामा उनले सफाइ पाएका हुन् ।

उनले मोरङका विभिन्न ठाउँका सर्वसाधारणलाई हुलाकबाट धम्कीपूर्ण चिठी पठाएर रकम माग्न थालेका हुन् । पीडितहरूका अनुसार उनीहरूले पहिल्यै मन्टुलाई साँवा र ब्याज गरी बढी पैसा तिरेर जग्गा फिर्ता लिएका थिए ।

‘अझै पैसा तिर्नु बाँकी छ’ भन्दै पत्र पठाएर त्रास फैलाइरहेको विराटनगरमा पत्रकार सम्मेलन गरेर पीडितहरुले गुनासो गरेका हुन् । पत्रमा भनेजति पैसा नदिए प्रहरी–प्रशासन लगाएर कानुनी कारवाही गर्ने भन्दै धम्क्याउने गरेको मोरङको सुनवर्षी नगरपालिका–४ का अमितकुमार यादवले पत्रकार सम्मेलनमा बताए ।

६ वर्षअघि अमितका बुवा महावीरले मन्टुबाट १ बिघा १ कठ्ठा १५ धुर जग्गा राजीनामा पास गरेर २ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसको ब्याज र साँवा गरेर २० लाख रुपैयाँ तिरसके । मन्टुले भने अझै २० लाख रुपैयाँ दिन भनिरहेका छन् ।

रकम दिएमात्रै जग्गा फिर्ता गरिदिने उनले बताएका छन् । अरु कतिपयलाई पनि यसैगरी अप्ठ्यारोमा पार्ने क्रम बढेपछि पीडितहरु भेला भएर न्यायका लागि गुहार मागिरहेका छन् ।

मन्टुबाट मिटरब्याज पीडित भएका १७ जनाले मोरङ प्रहरमा ठगी र आपराधिक लाभ मुद्दामा जाहेरी दिएका थिए । २०७७ मंसिर २९ गते प्रहरीले मन्टुलाई पक्राउ गरेको थियो ।

२०७७ माघ १३ गते प्रहरीले उनीविरूद्ध मुद्दा दायर गरेको थियो । प्रहरीका अनुसार १७ जना सर्वसाधारणलाई ९२ लाख ८८ हजार रूपैयाँ कर्जा दिएर २ करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको अनुसन्धानबाट खुलेको थियो ।

मिटरब्याजमा ऋण दिएको भन्दा पाँच गुणा बढी रकम असुली गरिसक्दा पनि उनीहरूबाट अझै १ करोड ३८ लाख ९८ हजार ४ सय रुपैयाँ १७ जना पीडितहरूसँग माग गरेको अभियोग पत्रमा उल्लेख छ ।

त्यसपछि अदालतमा दायर भएको अभियोगपत्र अनुसार मन्टुले १७ जना सर्वसाधरणलाई विभिन्न मितिमा ठगी र अपराधिक लाभ लिएको पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भएको थियो ।

२०७७ माघ २० गते मोरङ अदालतका तत्कालिन न्यायाधीश ईश्वर पराजुलीको इजालशले मन्टुलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिए । त्यसपछि उनी मोरङ कारागार चलान भए ।

कारागार गएपछि फैसला हुनुभन्दा अघि बकपत्र गराइएको थियो । त्यसबेला मन्टुले पीडितमध्येका १७ जनाको जग्गा फिर्ता गरिदिने कबोल गरेका थिए । उक्त कबोल गरेको पत्रमा आफूले सही गरेनन् । मन्टुले सहमतिको पत्रमा हस्ताक्षरको लागि श्रीमती ज्योति रौनियारलाई अख्यितारी दिए ।

२०७७ चैत ८ गते वडा कार्यालयमा निवेदक दिने १७ जना र मन्टुको तर्फबाट ज्योतिको हस्ताक्षरसहित जग्गा बिक्री गर्ने सहमति भयो । मन्टुको नाममा रहेको जग्गा १७ जना निवेदकले पैसा दिएपछि फिर्ता गरिदिने भए ।

मन्टु जेलमा रहेकाले श्रीमती ज्योतिलाई मालपोत कार्यालय विराटनगरमा पैसा दिएपछि जग्गा आफ्नो नाममा आएको पत्रकार सम्मेलनमा अमितकुमार यादवले बताए ।

‘यति भइसक्दा पनि मन्टुले हुलाकबाट पत्र पठाएर २५ लाख ५० हजार रुपैयाँ माग्ने गरेका छन्, नदिए कानुनअनुसार कारवाही गर्ने भन्दै धम्की दिइएको छ,’ उनले पत्रकार सम्मेलनमा भने ।

मन्टुले उनलाई जेठ १४ गते बुधबार पठाएका हुन् । पीडितहरुका अनुसार मन्टुले अहिले आफूविरुद्ध उजुरी दिने १७ जनामध्ये ११ जनालाई पत्राचार गरेर पैसा माग्दैछन् ।

२०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजालशले मन्टुलाई ठगी र आपराधिक लाभ मुद्दाबाट सफाइ दिएको थियो ।

जेलबाट बाहिरिएपछि प्रहरी–प्रशासन आफ्नो पक्षमा रहेको भन्दै मनलागी पैसा मागिरहेको पत्रकार सम्मेलनमा विराटनगर–८ का गणेश रायले गुनासो गरे । आफूलाई २५ लाख रुपैयाँ माग्दै पत्र पठाएको उनको भनाइ छ ।

गणेशका अनुसार उनका ज्वाइ महानन्द रायले मन्टुसँग टिनले छाएको घरसहित एक कट्ठा जग्गा राजीनामा पास गरेर २ लाख ५० हजार रुपैयाँ लिएका थिए । विभिन्न मितिमा मन्टुलाई ज्वाइँले ५ लाख रुपैयाँ दिए ।

पछि मन्टु जेलमा गएपछि श्रीमती ज्योतिलाई २५ लाख रुपैयाँ दिएर घरजग्गा आफ्नो नाममा ल्याएको गणेश रायको भनाइ छ । बताए । मन्टु जेलबाट छुटे पछि महानन्दलाई घरभाडा बापत ९ लाख रुपैयाँ नबुझाएको भन्दै मुद्दा हालेका थिए ।

मोरङ अदालतले ९ लाख रुपैयाँ तिनुपर्ने पैसला पनि गर्यो । अदालतले भनेजति पैसा तिर्न नसकेपछि महानन्द राय २०८१ असोज १३ गते जेल पठाइए । उनलाई बिगो बरावरको २ वर्ष कैद सजाय भयो । ‘जेल बसेको एक महिनापछि ज्वाइँको मृत्यु भयो,’ पत्रकार सम्मेलनमा गणेशले भने, ‘मन्टुले अदालतमा मुद्दा दिएपछि ज्वाइँ तनावग्रस्त हुनुभएको थियो, त्यही तनावका कारण ज्यान गयो ।’

अर्का पीडित धनपालथान गाउँपालिका–१ नोचाका गुल्जार मियाँले आफ्नो बावु इनुस मियाँको नाममा मन्टुले पठाएको पत्र पठाएको उल्लेख गर्दै तर आफूले पत्र नबुझेको बताए । मन्टुले दुःख दिने नियतले पत्रचार गरेकोले नबुझेको उनको भनाइ छ ।

मोरङको धनपालथान, जहदा, रंगेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका वासिन्दालाई उनले उसैगरी धम्कीपूर्ण पत्र पठाएका छन् । उनीहरुले मन्टुसँग वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गरेका थिए ।

मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । उनीहरु का अनुसार मिटरब्याजमा लगानी गरेको पैसा उठाउन एजेन्ट गाउँमा खटाउने गरेका थिए ।

के भन्छन् मन्टु ?

यसैबीच, मन्टुले बिक्री गरेको जग्गाको पैसा माग्न पत्रचार गरेको दाबी गरेका छन् । आफू जेलमा हुँदा जग्गा बिक्री भएको तर त्यसको पैसा अहिलेसम्म नपाएको हुनाले चिठी पठाएर मागेको उनले बताए । आफूले पाउन पैसा माग्दै चिठी पठाएको तर कसैलाई नधम्क्याएको उनको भनाइ छ । कसैलाई पनि मिटरब्याजमा पैसा नदिएको दाबी पनि उनको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.