‘अनुसन्धानलाई प्रविधि प्रयोगले प्रमाणयुक्त बनाउनुपर्छ’

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार १५:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् ।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज (शुक्रबार) उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणका तथ्यले दुविधारहित रुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धान र अभियोजन गर्न आग्रह गरे ।

‘समाजमा अन्याय हुन नदिन र सामाजिक प्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मानवोचित र न्यायपूर्ण समाज सिर्जना गर्न समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसका लागि उचित स्रोत, साधानसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो रहेको छ’ उनले भने, ‘प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ । सुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा ध्यान दिनेछ ।’

अपराधीले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँनयाँ प्रविधिसहित स्रोत साधनसम्पन्न हुनुुपर्ने र त्रृटिरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने प्रधानमन्त्रीको भनाइ थियो ।

गृहमन्त्री रमेश लेखक, महान्याधिवक्ता रमेश बडालसहित सहभागी सम्मेलनमा ओलीले प्रणालीगत प्रबन्धमार्फत समान अधिकार र अवसर दिन तथा विकास, सुव्यवस्था र सुशासनका पक्षमा ध्यान दिँदै दोषीलाई कारबाही, पीडितलाई न्याय दिने काममा लाग्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.