विराटनगरमा बिरामीसँग पैसा उठाउने २ प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार १९:०५

विराटनगर । विराटनगरमा आँखाको उपचार गराउन आएका भारतीय बिरामीसँग पैसा उठाएको आरोपमा २ जना प्रहरी निलम्बित भएका छन् ।

इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी सहायक हवल्दारहरु विक्रम माझी र अम्बरबहादुर श्रेष्ठलाई निलम्बन गरेर कारबाहीको प्रक्रिया अघि बढाइएको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार निलम्बन गरेर थप अनुसन्धान गरिरहेको छ ।

रानीमै कार्यरत असई (प्रहरी सहायक निरीक्षक) खम्बबहादुर विकलाई निलम्बनको तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले निलम्बन गर्नका लागि लेखापढी गरेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई पठाएको छ ।

प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की विभिन्न जिल्लाको निरीक्षणमा रहेकाले निलम्बनको प्रक्रिया पूरा गर्न बाँकी छ । हवल्दारसम्मको एसपी (प्रहरी उपरीक्षक) र जुनियर अधिकृतको निलम्बन डीआईजी (प्रहरी नायव महानिरीक्षक)बाट मात्रै हुनसक्ने व्यवस्था छ ।

‘२ जना हवल्दार निलम्बनमा परिसकेका छन् । असईका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट सिफारिस भएर आएको छ,’ प्रदेश प्रहरी कार्यालय स्रोतले भन्यो, ‘डीआईजी साब् बाहिरी जिल्लाको निरीक्षणमा भएकाले हो । उहाँ आइसकेपछि थप कारबाही अघि बढ्छ ।’ प्रदेश प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटमा ड्युटीमा खटिएका असई विक र सहायक हवल्दारहरुले बुधबार बिहान घुस लिएको आरोप लागेको छ ।

भारतबाट आँखाको उपचारका लागि विराटनगर आएका बिरामीसँग ६ हजार भारतीय रूपैयाँ (भारु) लिएको आरोप लागेको हो । ‘उपचारका लागि आएकाहरुको साथमा ४२ हजार भारु रहेछ । ड्युटीमा रहेका प्रहरीले २५ हजार रूपैयाँभन्दा बढी भारु बोक्न पाइँदैन भनेर अवरोध गरेछन्,’ प्रदेश प्रहरीका १ अधिकृतले भने, ‘त्यसपछि ‘बार्गेनिङ’ सुरु भएछ । पछि घुसबापत ६ हजार भारु लिएर छाडेको कुरा आएको छ ।’

उनका अनुसार अघिल्लो दिन प्रहरीलाई पैसा बुझाएका पीडितहरु भोलिपल्ट उजुरी लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका थिए । त्यसलगत्तै असई र २ जना सहायक हवल्दारलाई रानीबाट जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर छानबिन सुरु गरिएको हो ।

यद्यपि, उनीहरुले घटना स्वीकार गरेका छैनन् । धेरै मात्रामा भारतीय रूपैयाँ बोकेर हिँड्न पाइँदैन भनेर आफूहरुले सम्झाइबुझाइ गरेको र उपचारका लागि आएको थाहा पाएपछि छाडिदिएको बताएका छन् ।

नेपालमा ५ सय र १ हजार दरका भारतीय नोट बोक्न प्रतिबन्ध छ । तर, उपचारका लागि आउने भारतीय नागरिकहरुसँग भारु नै हुने भएकाले आवश्यक कागजातलगायतका आधारमा प्रहरीले सहजीकरण गर्दै आएको छ ।

कोशी प्रदेशका प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलले घटनाको आन्तरिक हिसाबले छानबिन एवं अनुसन्धान भइरहेको बताए । ‘आर्थिक विवादमा प्रहरी मुछिएकाले त्यससँग सम्बन्धित तहकिकातको काम भइरहेको छ । छानबिनको प्रक्रिया अघि बढिसक्यो । थप कुरा अनुसन्धानबाट खुल्दै जान्छ,’ एसपी पोखरेलले भने ।

यसअघि पनि सर्वसाधारणसँग १३ हजार रूपैयाँ घुस लिएको आरोप लागेपछि विराटनगरकै सीआरभी केसलियाका इन्चार्ज एवं असई रामअवतार यादव कारबाहीमा परेका थिए । जिम्मेवारीबाट हटाउँदै जिल्ला प्रहरी तानेर निलम्बन गर्दै उनीमाथि थप छानबिन एवं अनुसन्धान अघि बढाइएको छ ।

असई यादवमाथि जेठ १७ गते राति घुस लिएको आरोप लागेको थियो । वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत असई यादव इन्चार्जको जिम्मेवारी पाएर सीआरभी गएको केही दिनमै घुस विवादमा मुछिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.