लाइसेन्समा ‘सेटिङ’ गरेको आरोप, यातायातका कर्मचारीसहित २ जना पक्राउ

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार २०:१५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मा ‘सेटिङ’ गरेको आरोपमा यातायातका कर्मचारीसहित २ जनालाई पक्राउ गरेको छ ।

परीक्षामा अनुत्तीर्ण भएकालाई गैरकानुनी रूपमा पास गराउने गरेको आरोप लागेपछि यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायक (पाँचौं) इन्द्रजित गुरुङ र बिचौलियाको काम गर्दै आएका सुरज पाठकलाई अख्तियारले शुक्रबार पक्राउ गरेको हो । अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनीहरुलाई यातायात कार्यालय परिसरबाट पक्राउ गरेको थियो ।

लाइसेन्स परीक्षामा फेल भएकाहरूलाई वर्ग अनुसार १५ हजारदेखि २५ हजार रुपैयाँसम्म रकम लिएर पास गराउने ‘सेटिङ’ भइरहेको सूचना पाएपछि अख्तियारको टोली पुगेको थियो । त्यस क्रममा गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद बरामद भएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार त्यसपछि कार्यालय प्रमुख विष्णु भट्टराई, अन्य कर्मचारीहरू र महालक्ष्मी, गुरुङ तथा कुमार ड्राइभिङ सेन्टरका सञ्चालकहरूको ३१ थान मोबाइल, २ थान ल्यापटप र विभिन्न कागजात समेत नियन्त्रणमा लिइएको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.