प्रश्नहरूको अंकुशे

Share this
827shares
मुलुकी खबर
रमेशचन्द्र अधिकारी
clock२०८२ जेठ ३१, शनिबार ०९:३०

अनेक प्रश्नले घोचिएर

थला परेको छ जीवन यतिबेला ।

अँध्याराहरूमा
झाडीहरूमा
खोलाका बगरहरूमा
देखिन्थे – जोसिला राता शिरहरू
सुनसान काँसबारीमा
एकान्तमा भेटिन्थे – कसिला मुठ्ठीहरू
दरिला मुठ्ठीहरू भन्दा कठोर लाग्ने
विद्रोहको ज्वाला लप्किने आँखाले
ताकिन्थ्यो सङ्गिन निशानीहरू
र
छिनभरमै ढालिन्थ्यो
आफ्नै जस्ता लाग्ने सपनाहरूलाई ।

बगरको ढुङ्गोले सोधेको थिएन
मेरो परिचय, त्यतिबेला
कैयन पटक ठोक्किएर गए
परेली माझबाट हावाका झोक्काहरू
तर प्रश्न गरेनन् कहिल्यै
रहरहरू बोकेर डुलिरहेका आँखाहरूका बारेमा ।

जिन्दगी बैँसको रूख बनेका बखत पनि
मन भरिनेगरी फक्रन दिएनौ रातो गुलाफ
र त
सर्लङ्गै काँडाघारीमात्र बनिरह्यो जुनी ।
तिमीले सुनाएको क्रान्तिको कथामा
खलपात्रहरूको अनुहार कस्तो हुन्छ भनेर
चिनाएनौ कहिल्यै ।

जान्नु छ मलाई
म कुन वर्गमा पर्छ ?

सपना बनेर उदाउने जून
कुन पथ भएर अस्ताउँछ ?
खोलाहरू क्रान्तिकारी हुन्÷होइनन् ?
के पहाडहरू यथास्थितिवादी नै हुन् त ?
हावा वेगले बहेको
अग्रगामी छलाङ मारेको हो÷होइन ?

अझ महत्त्वपूर्ण–
यो शरीरभित्र अड्किएको गोलीले
किन ऐंठन पारिरहन्छ ?
किन बिथोलिरहन्छ बारम्बार
आँखाभरि अटेसमटेस हुनेगरी
तिमीले फुलाइदिएको सपनालाई ?

मेरो मानसपटलमा डुब्दै तैरिंदै
तैरिंदै डुब्दै मलाई बिथोलिरहने

यो अन्तिम प्रश्न तिमीलाई–
तिम्रो निर्देशनमा
मैले उठाएको बन्दुक
अरू कसैको विरुद्धमा थियो
या
मेरा आफ्नै सपनाको ?

-भर्खरै प्रकाशित ‘माझीहाडाम कवितासङ्ग्रहबाट

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.