
विराटनगर । पाँचथरमा निर्माणधीन अवस्थामा भाँचिएको बेलिब्रिज ७० मिटर लामो छ । यो पुल जोड्ने क्रममा बीचमा सपोर्ट लगाइएको थिएन् । ७० मिटर लामो भएका कारण जडानका क्रममा ओभरलोड भएर भाँचिको अनुमान छ ।
मेची राजमार्गमा पर्ने फिदिम र हिलिहाङ जोड्ने हेवा खोलाको पुल गतवर्षको बाढीले बगाएको थियो । त्यसपछि भारतको प्राविधिक सहयोगमा मोडुलर ब्रिज बारीपारी जोड्ने क्रममा भाचिएको हो । पुल भाँचिदा ६ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए । उनका अनुसार घाइते सबैको अवस्था गम्भीर छ ।
नेपालमा पहिलोपटक ७० मीटर लामो मोडुलर ब्रिज जडानको काम हेवाखोलामा भइरहेको थियो । नेपालमा नयाँ भएकाले भारतीय प्राविधकको सहयोगमा जडान भएको प्रमुख जिल्ला अधिकारी पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । ‘ यो भारतको प्राविधिक सहयोगमा अलिक युनिक टेक्नोलोजिको भनिएको थियो,’ उनले भने,‘प्रारम्भीक रुपमा हेर्दा पूर्णरुपमा नै क्षति भएको जस्तो देखिन्छ ।’
७० मिटर लामो पुललाई बीचमा कुनै सपोर्ट गर्न पिलरबिना निर्माण भइरहेको थियो ।
वर्षाको बाढीले २०८० सालमा हेवा खोलाको पुल बाढीले बगाएको थियो । त्यसपछि बनाएको बेलिब्रिज पनि २०८१ असोजको बाढीले बगाएको थियो । दुई वटा पुल बगेपछि भारतको प्राविधिक सहयोगमा नयाँ बेलिब्रिज निर्माणको क्रममा भाँचिएको हो । बेलिब्रिज भाँचिएपछि बर्खामा मेची राजमार्गमा यातायात सञ्चालनमा समस्या हुनेछ ।

























