
काठमाडौं । सभामुख देवराज घिमिरेले आज (सोमबार) बिहान सरकारी निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग भेट गरेका छन् ।
२ सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भएको अवस्थामा उनले भेटवार्ता गरेका हुन् । बजेटबारे छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अवरूद्ध हुँदा जनतामा गलत सन्देश गएको उनले बताएका थिए ।
‘विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ । तर, अब रोक्ने अवस्था छैन । संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ’ भेटका क्रममा उनले भने ।
राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको उल्लेख गर्दै सभामुख घिमिरेले भने, ‘यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्दछ । तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौं ।’
रास्वपाका अर्याल र परियारले विपक्षीले उठाएका माग गम्भीर भएको र जनताको वास्तविक समस्या उठाएको बताएका थिए । भेटमा उनीहरुले भने, ‘हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अबरोध बाध्यात्मक भएको हो । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौं । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौं ।’

























