घुस लिने कर्मचारी र लेखापढी व्यवसायीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २, सोमबार १६:३०

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर, बाँकेमा कार्यरत २ जना खरिदारसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बाँकेस्थित मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले सेवाग्राहीसँग जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै लेखापढी व्यवसायी मार्फत २० हजार रुपैयाँ घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा लेखापढी व्यवसायी शान्ति पुनले सेवाग्राहीबाट मागिएको घुस रकम लिएर हरिचन्द्र पाण्डेलाई दिएको र पाण्डेले उक्त रकम रेष्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको थियो ।

घटनामा खरिदार रतनबहादुर जिसीको समेत संलग्नता देखिएकोले आयोगले खरिदार पाण्डे र जिसीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) अनुसार भ्रष्टाचारको कसुरमा दोषी ठहर गर्दै कैद र बिगोअनुसार जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो ।

सेवाग्राहीबाट घुस माग गरी त्यसको लेनदेनमा सहजीकरण गरेको आरोपमा लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारीमाथि पनि भ्रष्टाचार निवारण ऐनको दफा ३ (२) अनुसार मुद्दा चलाइएको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले उनीहरूलाई पनि कैद र बिगोअनुसार जरिवाना सजाय माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.