
विराटनगर । निरन्तरको संसद अवरोध खुलाउने विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले सभामुख देवराज घिमिरेलाई भेटेका छन् ।
भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) ले निरन्तर संसद अवरोध गरिरहेको छ । सभामुख र गृहमन्त्रीबीचको भेटघाटमा अवरुद्ध संसद खुलाउने विषयमा छलफल भएको बताइएको छ ।
सदन बस्नुअघि सभामुख र गृहमन्त्रीबीच भेटपार्ता भएको हो । रास्वपाले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तरसंसद अवरोध गरेको छ ।
भेटमा माओवादीसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको मागलगायतका विषयमा छलफल भएको जनाइएको छ । गृहमन्त्रीसँगको भेटपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग छलफल चलिरहेको सभामुखको सचिवालयले जनाएको छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, यो समाचार तयार पार्दासम्म संसद सुरु भएको छैन । रास्वपाले छानबिन समिति बनाउन सरकार तयार भए आन्दोलनबाट फिर्ता हुने बताएको छ ।
























