विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रबिक्रम बेघाबीच विवाद भएको छ । श्रमदानको भुक्तानी विवादमा प्रमुख साम्पाङ र उपप्रमुख बेघाबीच विवाद भएको हो ।
मेयर उपमेयरबीच विवाद हुँदा उनीहरुका समर्थकबीच भने झडप भएको छ । दुई पक्षाबीचको विवाद र झडपले गर्दा मंगलबार दिनभर नगर परिसर तनावग्रस्त बनेको थियो ।
धरान १६ मा ‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले श्रमदान मार्फत भएकाे कामका लागि नगरपालिकासँग ७ लाख ४१ हजार भुक्तानी माग गरेको थियो ।
१७ लाख ४० हजार बराबरको काम मध्ये ९ लाख ९८ हजारको श्रमदानबाट भएको दाबीसहित ७ लाख ४१ हजार भुक्तानी मागे पछि उपमेयर बेघाले रोकिदिएका थिए । त्यसपछि धरान उपमहानगरपालिका– १० नारायणपथकाे श्रमदानमा प्रयाेग भएकाे उपमहानगरको सवारीकाे चाबी खोसेका थिए ।
दुई वटा काम रोकिएपछि सोमबार दुई पक्षबीच विवाद भएको थियो । मंगलबार भने हात हालाहालको स्थिति बनेको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगूले दुई पक्षबीच सामान्य विवाद भएको बताए । दुवै पक्षलाई नगर परिसरबाट हटाएपछि अवस्था सामान्य बनेको उनले जानकारी दिए ।
























