
बेलबारी । पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकहीखण्ड कालोपत्रको काम सुरु भएको छ ।
आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार मंगलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम सुरु भएको हो ।
निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ ।
एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमीमा मात्र काम भइरहेको छ। पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ ।
चालु आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको छ। आयोजना पूर्वीखण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा २१ प्रतिशत काम सम्पन्न भएको छ। पूर्वी खण्डमा पनि चालु आवमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ। पूर्वी खण्डमा ५० र पश्चिममा ७० वटा कल्भर्ट निर्माण भएका छन्।
यो राजमार्ग बजार क्षेत्रमा ५० मिटर, जङ्गलमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा हुनेछ। एसियाली विकास बैंकको ऋण सहयोगमा २०८० साल माघ १९ गतेदेखि निर्माण सुरु भएको हो ।

























