
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामले गृह जिल्ला ताप्लेजुङमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेमाथि हातपात गरेका छन् ।
फुङलिङ नगरपालिका–४ को एक क्याफे परिसरमा मंगलबार बेलुका भएको सामान्य विवादमा मन्त्रीले क्षेत्र विकास समितिका अध्यक्ष कुटेका हुन् । तर, प्रहरी भने पीडितले जाहेरी नदिएको र कुटपिट गर्ने व्यक्ति भीआईपी भएका कारण यो विषयमा बोल्न मान्दैन । पीडित अध्यक्ष थेबेले घटना भएको स्वीकार गरिरहँदा मन्त्री हाङगाम भने रक्की थेबेलाई नै आफूले नचिन्ने बताउँदै पन्छिए ।
घटनाको प्रत्यक्षदर्शीका अनुसार अबको निर्वाचनमा अध्यक्ष थेबेले हाङगामसँग चुनाव लड्ने बताएपछि मन्त्री हाङगामले थेबेमाथि हातपात गरेका हुन् । मन्त्रीले हातपात गरेपछि थेबे घटनास्थलबाट हिँडेका थिए । घटनास्थलमा प्रहरीसमेत पुगेको थियो ।
हातपातको घटनापछि बुधबार दुवै पक्षलाई मिलाउने प्रयास भएको थियो । तर, विषय मिलिसकेको छैन । थेबेले मुलुकी खबरसँगको कुराकानीमा सामान्य विवाद भएको बताए । भने, ‘विषय मिलिसकेको छैन, तर अब मिल्छ । यसलाई बाहिर नल्याउँदा पनि हुन्छ होला ।’
मन्त्री हाङगामले भने घटनाको विषय सोझै अस्वीकार गरेका छन् । उनले रक्की थेबेलाई आफूले नचिन्ने नै बताए । ‘अहिले म चिन्दिन उसलाई,’ उनले भने । तर, मन्त्री हाङगामले थेबेलाई मजाले चिन्छन् । थेबे नेकपा (एकीकृत समाजवादी)का नेतासमेत हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख वेदप्रसाद गौतमले कुटपिटको घटनाको विषयमा औपचारिक जानकारी आफूलाई नभएको बताए ।
हाङगाम ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । पार्टी सभापति शेरबहादुर देउवानिकट भएका कारण उनले प्रदेशमा मन्त्री बन्ने मौका पाएका थिए ।
मन्त्री हाङगामको यो विवाद भने नयाँ होइन । उनी यसअघि पनि बारम्बार विवादमा तानिएका थिए । २०८० भदौ २२ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा सांसद हाङगामले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका तत्कालीन प्रमुख (डीएसपी) राजन लिम्बूलाई ज्यान मार्ने धम्की नै दिएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले समिति नै बनाएर छानबिन गर्दै घटनाको अनुसन्धान गर्नु परेको थियो । कांग्रेस नेताहरूको सक्रियतामा छलफलपछि यो विषय मिलेको थियो । एसपीमा बढुवा भएका लिम्बू अहिले जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख छन् ।
मुख्यमन्त्रीसँग पनि चिसियो सम्बन्ध, मन्त्रीका सचिवालयले पनि दिन्छन् दुःख
पटक–पटक विवादमा आइरहने मन्त्री हाङगामको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि सम्बन्ध चिसिएको छ । प्रदेशको बजेट निर्माणका क्रममा उनीहरूबीच विवाद भएपछि सम्बन्ध बिग्रिएको मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
‘मुख्यमन्त्रीसँग उहाँको सम्बन्ध ठीक छैन । बजेट बनाउने बेलामा मन्त्रालयका कर्मचारीलाई भौतिक कारबाही गर्ने धम्की दिनुभएको रहेछ,’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘त्यसपछि मुख्यमन्त्रीले कृषि मन्त्री फरिदिनुपर्यो भन्दै कांग्रेस संसदीय दलका नेतालाई भन्नु भएको थियो, उहाँले मान्नु भएनछ । मन्त्री हाङगामको अराजकता अलिक बढेको छ ।’
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले भने मुख्यमन्त्री र सबै मन्त्रीबीच सम्बन्ध सुमधुर रहेको दाबी गरेको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले मुख्यमन्त्री र मन्त्रीबीच कुनै खटपट र विवाद नभएको जिकिर गरे ।
यता, मन्त्री हाङगाम अनुगमन र कार्यक्रमका क्रममा आफू मातहतको जुन–जुन कार्यालय पुग्छन् कार्यालयका प्रमुख र कर्मचारीलाई थर्काएर बोल्छन् । उनले मन्त्रालयका केही कर्मचारीलाई त आफूले भनेबमोजिम नगरे ‘भौतिक कारबाही’ गर्ने भन्नै धम्की पनि दिएको कर्मचारी बताउँछन् । तर, मन्त्रीको डरका कारण उनीहरू नाम खुलाउन चाहँदैनन् । मात्रै यति भन्छन्, ‘मन्त्रीको अराजकता बढेको छ । कसरी यस्ता पनि मन्त्री भए ?’
मन्त्री मात्रै होइन, मन्त्रीका सचिवालयमा रहेकाहरू पनि जिल्लाका कर्मचारी थर्काउनमा पछि छैनन् । आफ्ना आफन्त वा कार्यकर्ता कतै जानुपरे दिनमा मात्रै होइन रातमासमेत मन्त्रालय मातहतको जिल्लाका कार्यालयका प्रमुख र सवारी चालकलाई गाडी पठाउन र भनेको स्थानमा तुरुन्त पुर्याउन लगाउँछन् । नमाने सिधै गाली गर्छन् । त्यो पनि भन्न नमिल्ने शब्दहरूमा ।
एक चालकले भने, ‘मन्त्रीको निजी सचिवालयमा रहेकाले राती ८–९ बजे र मध्यरातमा पनि फोन गरेर यता लैजा र उता लैजा भन्छन्, रात पर्यो नि भन्दा उल्टै थकाउँछन् ।’ उनले मन्त्री र सचिवालयले सरकारी गाडीको अत्यधिक दुरुपयोग गरिरहेको बताए ।

























