
काठमाडौं । प्रतिनिधिसभा (संसद)को बैठकमा विपक्षी दलहरूले विरोधलाई कायमै राखेका छन् । विपक्षीको अवरोधका बावजुत पनि सभामुख देवराज घिमिरेले संसद बैठक चलाइरहेका छन् ।
बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेतका दलका सांसद सिटबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख देवराज घिमिरेले बोल्नका लागि रास्वपा सांसद हरि ढकाललाई समय दिए ।
उनले बोल्ने क्रममा भिजिट भिसाको नाममा लाखौं लाखौं युवा ठगिएको विषयमा आन्दोलित हुँदै गर्दा सरकारले आफ्नो आन्दोलनलाई बेवास्ता गरेको आरोप लगाए। उनले भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले उठाएका विषयमा गृहमन्त्री रमेश लेखकले जवाफ दिनुपर्नेमा उल्टै कटाक्ष गरेको टिप्पणी गरे।
माग पूरा नभएसम्म संसदभित्रको आन्दोलन जारी रहने ढकालले बताए । विपक्षी दलहरूको अवरोधकै बीच सभामुखले सदन भने अगाडि बढाएका छन्। उनले संसद बैठकमा आजलाई शून्य समय हटाइएको जानकारी दिए ।
यसैबीच रास्वपा सांसदहरुले संसद बैठकमा वेल घेराउ गरेका छन् । आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै रास्वपाले संसद बैठकमा विरोध जारी राखेको हो । राप्रपाले भने संसद बैठक बहिष्कार गरेको छ ।
























