संसदको कार्यसूचीबाट हटाइयो निजामति विधेयक, माओवादीले जनायो आपत्ति

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ५, बिहीबार १४:०६

काठमाडौं । संघीय निजामति विधेयक संसदको कार्यसूचीबाट हटाइएको छ ।

केही दिनअघि सदनको कार्यसूचीमा रहेको विधेयकलाई अहिले कार्यसूचीबाट हटाइएको हो । कार्यसूचीबाट विधेयक हटाइएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएका हुन् । केही दिनअघि सदनको कार्यसूचीमा रहेको संघीय निजामति विधेयकलाई अहिले संसदको कार्यसूचीबाट हटाएको भन्दै पाण्डेले आपत्ति जनाएका थिए ।

उनले निकै महत्वपूर्ण रहेको निजामति विधेयकलाई तत्काल कार्यसूचीमा राखेर अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । संघीय निजामति, विद्यालय शिक्षा र नागरिकता विधेयकलाई समयमा नै पारित गर्न प्रमुख प्रतिपक्षीले दबाब दिएपनि सरकार विधेयक अघि बढाउन गम्भीर नदेखिएको पाण्डेको आरोप छ ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संघीय निजामति विधेयकलाई संसदीय समितिबाट सर्वसम्मत रुपमा पारित गरेर सदनमा प्रस्तुत गरेपनि कर्मचारीको दबाबका कारण त्यसलाई रोक्ने प्रयास भएको बताए । ‘कुलिङ पिरियड’ नहटाए २५ सचिवले राजीनामा दिने धम्की प्रधानमन्त्रीलाई दिएको भन्ने सुनिएको भन्दै उनले धम्कीसँग खुट्टा नकमाउन सरकारलाई आग्रह गरे।

सचिवहरुले राजीनामा दिए अरु २५ सहसचिवले नयाँ जिम्मेवारी पाउने उनको भनाइ छ । पाण्डेले धम्कीका भरमा गलत नीति निर्माण गर्न दिन नहुने धारणा राखेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.