
कठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले दलैपिच्छे सम्झौता नहुने स्पष्ट पारेको छ । जारी संसद अवरोधलाई लिएर एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई त्यस्तो भनेको हो ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति अनुसार सदन अघि बढ्ने बताए । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सँग यसअघि सत्तारुढ नेपाली कांग्रेस र एमालेको २ बुँदे सहमति भएको थियो ।
सहमतिपछि माओवादीले संसद अवरोध गर्न छाडेको छ । तर, रास्वपाले संसदमा अवरोध कायमै राखेको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले संसदीय मान्यतामा दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने टिप्पणी गरेका छन् ।
माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन हुने उनको भनाइ छ । ‘सरकारले सहमति गरेपछि पनि रास्वपा ‘स्टन्ट’ गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौँ भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनु भयो,’ उनी भन्छन् ।
रास्वपाले ‘स्टन्ट’ गरेर नीलो रिबन र कालो लुगा लगाएर आएको आरोप बर्तौलाको छ । रास्वपा सांसदहरूको गतिविधिलाई केटाकेटीको संज्ञा दिँदै उनले यस्तो प्रवृत्तिले रास्वपालाई नै निल्ने दाबी गरेका छन् ।
























