कोशी प्रदेशमा सुरु भयो ट्राफिक सप्ताह (फोटो फिचर)

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ६, शुक्रबार १४:४५

विराटनगर । ‘सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौं ट्राफिक नियमको पालना’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरु भएको छ ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले संयुक्त रूपमा ट्राफिक सप्ताहको आयोजना गरेका हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको राजधानी विराटनगरमा सप्ताहको उद्घाटन गरे ।

सप्ताहको अवसरमा शुक्रबार बिहान विराटनगरलगायत प्रदेशका १४ वटै जिल्लामा प्रभातफेरीको निकालिएको थियो । प्रभातफेरीपछि विराटनगरमा मुख्यमन्त्री कार्कीले ट्राफिक सप्ताहको उद्घाटन गरेका हुन् ।

कार्कीले सचेतना मूलक श्रव्यदृश्य सामग्री ‘सुरक्षित यात्रा’ अनावरणका साथै सार्वजानिक याात्रुवाहक बसमा यात्रुहरुको गुनासो तथा सुझावका लागि क्यूआर कोडसहितको स्टिकरसमेत टाँसेका छन् । उनले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए । विद्यालय स्तरमै ट्राफिक सचेतना प्रदान गर्न सकिए दीर्घकालीन रुपमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन कोशी प्रदेश सरकार तत्पर रहेको बताए । उनले सवारी दुर्घटना न्यूनीकरणमा प्रदेशस्तरीय ट्राफिक सप्ताहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी गोविन्द अधिकारीलगायतले ट्राफिक सप्ताहको सफलताको शुभकामना दिएका छन् । कार्यक्रमका अवसरमा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा योगदान पुर्याउने व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले ट्राफिक सप्ताहअन्तर्गत साताव्यापी विभिन्न सचेतनामूलक कार्यक्रमहरु हुने बताए । उनका अनुसार सप्ताहमा सवारी चालक, विद्यार्थी तथा पैदलयात्रीलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, सवारीसाधनको गति नियन्त्रण तथा पार्किङ निषेधको कार्यान्वयन, सडक अनुशासन कार्यान्वयन तथा कारबाही, सवारीसाधनको यान्त्रिक चेकजाँच तथा मापसे (मादक पदार्थ सेवन) र लापसे (लागू पदार्थ सेवन) चेकजाँच, सवारीसाधनको अनुगमन तथा कारबाही एवं अन्तरक्रिया र समीक्षालगायतका कार्यक्रम हुने छन् ।

सप्ताह उद्घाटनको अवसरमा आर्थिक वर्ष २०८१–०८२ को ११ महिना (साउनदेखि जेठसम्म) सवारी दुर्घटनाबाट कोशी प्रदेशमा पुगेको मानवीय क्षतिको विवरणसमेत सार्वजनिक गरिएको थियो । प्रदेशको विभिन्न स्थानमा पछिल्लो ११ महिनामा दुर्घटनामा परेर ३ सय ८१ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार सवारी चालक, सडक प्रयोगकर्ता र आमनागरिकलाई सडक सुरक्षा, ट्राफिक नियम, दुर्घटना न्यूनीकरणलगायतका बारेमा सुसूचित गराउने, सडक अनुशासन र सडकको सुरक्षित प्रयोग एवं महत्वका बारेमा जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवालालाई आआफ्नो भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको हो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.