
रामेछाप । संघीय राजधानी काठमाडौंलाई तराईसँग जोड्ने बीपी राजमार्गमा राति गाडी कुदाउन नपाइने भएको छ । १५ दिनका लागि रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
सिन्धुलीको मूल्कोटमा शुक्रबार भएको काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले १५ दिनका लागि बेलुका ६ः३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक सवारी साधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । वर्षाको मौसमले राजमार्गका विभिन्न खण्डमा काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्डमा क्षति पुर्याएको छ ।
यात्रु तथा चालकको सुरक्षाका लागि रातको समयमा गाडी सञ्चालन गर्न रोक लगाइएको हो । राजमार्गका धेरै ठाउँमा पहिरोको जोखिम र चिप्लो सडक भएका कारण सवारी सञ्चालनलाई अस्थायी रूपमा रोक्ने निर्णय भएको बताइएको छ ।
निर्णय अनुसार काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रे भञ्ज्याङमै रोकिने भएको छ भने काठमाडौंतर्फ जाने सवारी साधनलाई सिन्धुलीको खुर्कोटमा रोकिने भएको छ । उक्त निर्णय शुक्रबारबाटै लागू हुनेछ ।
बीपी राजमार्ग भएर दैनिक हजारौँ यात्रु र मालवाहक गाडी आवतजावत गर्छन् । गत वर्ष असोज महिनामा बाढीले रोशी खोला क्षेत्रको सडकमा ठूलो क्षति गरेको थियो ।

























