
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाबाट वैदेशिक रोजगारीमा गएका मध्ये २ वर्षमा १४ जनाले ज्यान गुमाएका छन् । खजुरा गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख लोकराज संज्यालका अनुसार पालिकाबाट वैदेशिक रोजगारीमा गएका १४ जनाले पछिल्लो २ वर्षमा ज्यान गुमाएका हुन् ।
हालसम्मको तथ्याँक अनुसार खजुराबाट वैदेशिक रोजगारीका लागि जानेहरु मध्ये २८ जनाको मृत्यु भइसेको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको मृत्यु हुनेमा सबैभन्दा बढी खाडी मुलुकमा गएकाहरु छन् ।
रोजगार सेवा केन्द्रका अनुसार हालसम्म खजुरा गाउँपालिकाबाट ६ हजार ४०० जना वैदेशिक रोजगारीमा गएका छन् ।
खजुरामा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारबाट फर्किएकाहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
गाउँपालिकाको रोजगार सेवा केन्द्रले आयोजना गरेको सो कार्यक्रममा खजुराबाट वैदेशिक रोजगारीमा गएर फर्केकाहरुको सहभागिता रहेको थियो ।

























