
काठमाडौं । अत्याधिक गर्मी बढेसँगै झाडापखाला र हैजा जस्ता पानीजन्य रोगले सताउँछ । गर्मीको समयमा झाडापखाला तथा हैजाका बिरामी बढ्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेले गर्मी सुरु भएदेखि अस्पतालमा झाडापखालाका बिरामी बढ्ने बताउँछन् ।
यो मौसममा दूषित पानी बासी सडेगलेका फलफूल तथा तरकारीको प्रयोगले झाडापखालाका बिरामी बढ्ने उनले बताए । मौसममा दूषित पानी बासी सडेगलेका फलफूल तथा तरकारीको प्रयोगले झाडापखालाका बिरामी बढ्ने चिकित्सकको भनाइ छ ।
झाडापखाला के कारणले हुन्छ ?
डाक्टर शर्माका अनुसार झाडापखाला पेटसँग सम्बन्धित स्वास्थ्य समस्या हो । दूषित पानीले पाचन प्रणालीमा असर गरी झाडापखाला लगायतका पेटसँग सम्बन्धी स्वास्थ्य समस्या निम्तन्छन् । दिनमा दुई वा दुई भन्दा पटक पातलो दिसा हुनुलाई पखाला लागेको भनिन्छ । झाडापखालाबाट सङ्क्रमित भएपछि सामान्यदेखि गम्भीर स्वास्थ्य समस्या देखिनसक्छ ।
दूषित पानी, बासी, सडेगलेका फलफूल तथा तरकारी, विषादी भएको फलफूल तथा तरकारीको प्रयोगले गर्दा झाडापखालाको समस्या बढाउँछ । त्यस बाहेक रोटाभाइरस, नोराभाइरसको सङ्क्रमण र विभिन्न प्रकारका ब्याक्टेरियाको कारणले पनि झाडापखाला लाग्छ ।
झाडापखालाबाट सङ्क्रमित भए पनि बिरामी बारम्बार पातलो वा पानीजस्तो दिसा लाग्ने, दिसाको रङ परिवर्तन हुने, दिसामा रगत देखिने जस्ता लक्षण देखिन्छ । पेट दुख्ने, बान्ता हुने, तिर्खा लाग्ने, कमजोर हुनेजस्ता लक्षण देखिन्छन् । शरीरमा पानीको मात्रा कम हुँदै जान्छ र जलवियोजन यदि बिरामीलाई समयमा नै उचित उपचार पाएन भने बिरामीको मृत्यु समेत हुनसक्छ।
पाँच वर्ष मुनिका बालबालिका, वृद्धवृद्धा, रोग प्रतिरोधात्मक क्षमता भएका मानिसमा यदि झाडापखाला देखिएमा गम्भिर प्रकारका लक्षण देखिने गर्छ । यस्ता मानिसलाई विशेष ध्यान दिन चिकित्सकको सुझाव छ ।
झाडापखालाले शरीरको पानी, नुन, खनिज तथा पोषक तत्व खेर जाने हुँदा कमजोरीपन निम्त्याउने गर्छ । झाडापखालाका लक्षण देखिनसाथ तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सिफारिसमा औषधी खुवाउनुपर्छ । चिकित्सकले के कारणले झाडापखाला लागेको हो परीक्षण गरेर त्यही अनुसार औषधी सिफारिस गर्ने गर्छन् ।
गर्मी तथा वर्षा यामसँगै फैलने झाडा पखाला तथा हैजा जस्ता पानीजन्य रोगबाट बच्न बासी सडेगलेका झिङ्गा भन्केका खानेकुरा नखान डाक्टरहरुको सुझाव छ । बासी, सडेगलेका तथा झिङ्गा भन्केका खानेकुरा नखान, उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरेकाे पानी पिउन उपयुक्त हुनेछ । भान्छा सफा राख्ने, राम्रोसँग पाकेको खानेकुरा मात्रै खाने, भाँडाकुँडा भित्रबाहिर राम्रोसँग सफा गर्ने, खाना पकाउनु र पस्कनु अघि साबुन पानीले राम्रोसँग हात धुने बानीले पनि झाडापखाला लाग्ने सम्भावना कम गर्छ ।























