
विराटनगर । मोरङको धनपालथानमा सार्वजनिक पोखरीमा डुबेर आज (आइतबार) अपरान्ह १ बालकको मृत्यु भएको छ ।
धनपालथान गाउँपालिका–७ कदमाह टोल बस्ने विजय शर्माका छोरा ८ वर्षीय ऋषि शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरनजिकै रहेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा अपरान्ह ४ः३० बजेतिर बालक डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
डुबेर बालकको मृत्यु भएको देखेपछि आफन्तले पोखरीबाट निकालेर घरमा लगेका थिए । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























