
काठमाडौं । दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै उपयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । उनले उत्पादनका लागि बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बताए ।
दैलेखमा भेटिएको ग्याँसका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरुसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा ड्रिल गरेर अन्वेषण गर्दा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस भएको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन चाइना जियोलोजिकल सर्भेले उद्योग मन्त्रालयलाई दिएको थियो ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न ग्याँस अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित मन्त्रालय र खानी विभागका अधिकारीहरुले प्रधानमन्त्री ओलीलाई आइतबार अवगत गराएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अधिकारीहरुले दैलेखमा एक ठाउँ गरिएको ड्रिल साइटमा ११२ दशमलव १ अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्याँसको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्याँसको भण्डार रहेको अनुमान गरिएको अवगत गराएका थिए ।
त्यसबाट उत्साहित प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्याँसको परीक्षण उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिएको भेटमा सहभागी एक अधिकारीले बताए । त्यसका लागि उनले आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने स्पष्ट पनि पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

























