
विराटनगर । धनकुटामा एकैपटक ४ वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ ।
धनकुटाको पाख्रीबास नगरपालिका–६ डिकुरेमा दुईतर्फी सडक अवरुद्ध भएको हो । सडकमा बिग्रिएर पछाडि सरेको प्रदेश १–०२–००२ ख ६६१ नम्बरको ट्रकले प्रदेश १–०२–००१ क ४८९१ नम्बरको टिपरलाई ठक्कर दिएको थियो ।
उक्त टिपरले प्रदेश १–०२–००१ ज ४१७८ नम्बरको ईभी गाडीलाई ठक्कर दियो । त्यसपछि ईभी गाडी पछाडि सरेर प्रदेश १–०२–००१ क ४८९२ नम्बरको ट्रकलाई ठक्कर दिँदा बाटो पूर्ण रुपमा बन्द भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तर, दुर्घटनामा परेका ४ वटा सवारीसाधन सडकमै रहेकाले दुवैतर्फ आवतजावत गर्ने बाटो अवरुद्ध भएको खनालले बताए ।
बिहान ११ बजेदेखि सडक अवरुद्ध भएको हो । जसका कारण सडकमा दर्जनौं सवारीसाधन रोकिएका छन् । यो सडकबाट धनकुटा हुँदै धनकुटाका विभिन्न स्थान, भोजपुर र संखुवासभासम्म सवारीसाधन चल्छन् ।
जेसीबीलगायतले सडक खुलाउने प्रयास भइरहेको डीएसपी खनालले बताए । सडक खुलाउन अब करिब ३ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।

























