काेशीकाे बजेट : ‘गौरादहको बजारमा माया हाम्राे बस्यो’

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ९, सोमबार १६:१३

विराटनगर । कोशी प्रदेशको बजेटमाथिकाे छलफलका क्रममा प्रतिपक्षी दलका सांसदले गीत गाएका छन् । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले मुख्यमन्त्रीले आफ्नो क्षेत्रमा बजेट केन्द्रीत गरेको भन्दै ‘गौरादहको बजारमा माया हाम्रो बस्यो’ बोलको गीत गाएका हुन् ।

कुनै समयको चर्चित गौरादहको बजारमा माया हाम्रो बस्यो बोलको गीत गायक सीताराम ताजपुरीयाले गाएका हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि गौरादह कै बासिन्दा हुन् ।

आफ्नो क्षेत्रलाई मात्रै बजेट केन्द्रीत गरेको विरोधमा माओवादी सांसद शेर्पाले गीत गाएर सरकारलाई व्याङ्ग्य गरेका हुन् । ‘बास्तबमा माया बस्ने भनिएको हिजोको गौरादह, गौरादहले गर्दा मुख्यमन्त्रीज्यू तपाई र मेरो, मुख्यमन्त्री र प्रदेश निवासीको बसिसकेको माया पनि छुट्ने देखियो नि अब,’ उनले भने,‘ प्रत्यक्षले दुई करोड ५० लाख र समानुपातिकले १ करोड ५० लाखको योजना पेश गर्ने र बाँकी चाहिँ क्रमागत र बहुवर्षीय योजनालाई निरन्तरता दिने भनिएको थियो, तर अहिले एउटै मन्त्रालयबाट मत्यगन्धा फनपार्क निर्माणमा पाँच करोड छुट्याइएको छ, यो न्यायपूर्ण हो ? यहाँ भ्रष्टाचारको गन्ध आयो ।’

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो घर छेउको पोखरीमा चार करोड बजेट विनियोजन गरेको उनले बताए । ‘एउटै तहमा चार–चार करोड लगाउने यो, न्यायपूर्ण हुन्छ,’ उनले गौरादहको बजारमा माया हाम्रो बस्यो बोलको गीत गाए । गौरादहकै कारण मुख्यमन्त्री र प्रदेशबासीबीचको बसेको माया पनि छुट्ने अवस्थामा पुगेको उनले बताए ।

लगातार बजेट

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गृहनगर गौरादह–१ मा रहेको गौरादह पोखरीमा यसपटक प्रदेशबाट ४ करोड ५ लाख रूपैयाँ विनियोजन भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनामार्फत ४ करोड ५ लाख रूपैयाँ रकम छुट्याइएको हो । संघीय सरकारले पनि २ करोड ७० लाख रूपैयाँ विनियोजन गरेको छ ।

गतवर्ष पनि कोशी प्रदेश सरकारबाट त्यही पोखरीको लागि ४ करोड रूपैयाँ उपलब्ध भएको थियो । त्यसअघि प्रदेश सरकारबाट ३ करोड रूपैयाँ विनियोजन भएको थियो । १२ विघा ५ कट्ठा क्षेत्रफलमा फैलिएको गौरादह पोखरी नगरपालिका मातहतमा छ । प्रदेश सरकारले पोखरीका लागि हालसम्म ११ करोड बजेट विनियोजन गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.