काेशीकाे बजेट छलफल : ‘झुर’ बजेटमा सांसदको कडा टिप्पणी

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ९, सोमबार १६:२३

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकारले झुर बजेट ल्याएको दाबी गरेका छन् । संसदमा बजेटमाथि छलफलको क्रममा सोमबार उनले प्रदेश सरकारले झुरेष्ट बजेट ल्याएको बताएका हुन् ।

बजेटमा क्षेत्रीय असन्तुलन, मनोमानी खर्च र नीति विपरीतको प्रवृत्ति देखिएको उनले बताए । उनले मुख्यमन्त्री र मन्त्रीले आफ्नाे क्षेत्रमा बजेट केन्द्रित गरेकाे बताए ।‘समग्रताको मुल्याङ्कनको आधारमा यो झुरेष्ट बजेट हो, यो इतिहासमा  कहिल्यै आएको थिएन,अब पनि आउन सक्दैन,’ उनले भने,‘ आउन सक्छ कसरी भने उहाँहहरु नै फेरि ल्याउँदा यो भन्दा झुर ल्याउन सक्नु हुन्छ, तर अरुले यस्तो ल्याउन सक्दैन ।’

एउटै जिल्लामा बजेट खन्याएर असन्तुलन निम्त्याइएको  बताउँदै उनले  संघीयताको भावना विपरित बजेट आएकाे बताए ।

झापाकी सांसद सबिना बजगाईंले चालु खर्च बढी, जनमुखी कार्यक्रम कमजोर रहेको भन्दै टिपणी गरिन् । उनले भनिन्, “यो राम्रो लक्षण होइन, जनताले तिरेको करको उचित उपयोग हुनुपर्छ।“ उनले कृषि क्षेत्रमा किसानको उत्पादनको मूल्य नपाएको र स्वास्थ्यमा दीर्घरोगीका लागि बजेट नरहेको उल्लेख गरिन्।

सांसद निमसरी राजवंशीले बजेटमा समावेशीता र समानुपातिकता नभएको उल्लेख गरिन् । राजवंशीले बजेट मापदण्डअनुसार ल्याइएको भनिए पनि योजनाहरू समावेशी नभएको बताइन् । मन्त्रीहरूले बजेट छुट्याउँदा आफ्ना क्षेत्र मात्र प्राथमिकतामा परेको गुनासाे गरिन् ।

सांसद गोम्बु शेर्पाले गौरदहकाे पाेखरीमा पटक पटक बजेट केन्द्रित भएकाे बताए । उनले “गौरदहको बजारमा माया हाम्रो बस्यो“ बाेलकाे गीत गाएर बजेटप्रति व्याङ्ग गरे ।

सांसद गीता तिम्सिनाले बजेटले किसान र विद्यार्थीका आवश्यकता समेट्न नसकेको बताइन् ।

सांसदहरूले बजेटमा असमानता, पूर्वाग्रह र नीति विपरीत वितरण भएको गुनासो गरे । संघीयताको मर्म विपरित केन्द्रिकृत ढंगले बजेट विनियोजन गरिएको, किसान, शिक्षा, रोगी र ग्रामीण क्षेत्रलाई नजरअन्दाज गरिएको उनीहरूको भनाइ छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.