कुकुर संरक्षणकर्मी माथि विराटनगरका मेयरको दुर्व्यवहार

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ९, सोमबार १९:५५

विराटनगर । सामुदायिक कुकुर संरक्षणको काम गर्दै आएका दाजु बहिनीलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले दुर्व्यवहार गरेका छन् । शाहिल र एलिना प्रसाईंलाई सोमबार आफ्नो कार्यकक्षमा प्रमुख नागेश कोइरालाले दुर्व्यवहार गरेका हुन् ।

मेयरको कार्यकक्षमा पुगेर एलिनाले सन् २०१९ देखि सञ्चालन गरिरहेको सेल्टर चलाउन भइरहेको समस्या सुनाएकी थिइन् । पहिले जाँदा पनि उनीहरूलाई मेयर कोइरालाले सहयोग नगर्ने भन्दै फर्काएका थिए । एलिनाका अनुसार सोमबार पनि मेयर कोइरालाले कुनै संस्थालाई सहयोग नगर्ने बताए ।

मेयर कोइरालाको रुखो जवाफ सुनेपछि दाजु शाहिलले यहाँबाट हिड भनेपछि शाहिललाई मेयर कोइरालाले कुटपिट गर्न खोजेको एलिनाले बताएकी छन् । कोइरालाले कार्यालय आउने सेवाग्राहीलाई रुखो व्यवहार गरेको गुनासो आइरहन्छ ।

‘मेरो दाइले मलाई यहाँबाट निस्किहाल भन्दा तँ सन्किन्छस् साला गधा प्रसाईँ भन्दै खेदाउँदै दोस्रो तलासम्म आउनु भयो,’ फेसबुक लाइभमा उनले भनिन्, ‘…मेयरले यति धेरै अपमान गर्नुभएको छ, म जागिर लगाइदिनु भनेर गएको होइन, कुकुरलाई हेल्प गर्दिनु भनेर गएको हो ।’

दाजुबिहनीले निजी खर्च र व्यक्तिको सहयोगमा सेल्टर सञ्चालन गर्दै आएका छन् । कुकुर संरक्षणका लागि स्थानीय सरकारसँग सहयोग माग्दा अपमानित गर्दै खेदाएका हुन् ।

मेयर कोइराला र एलिनासँगको विवादमा प्रत्यक्षदर्शी रहेका एक व्यक्तिका अनुसार सहयोग गर्न नसक्ने बताएपछि शाहिल कोइरालासँग रिसाएर हिँडेका थिए । त्यसपछि मेयर कोइराला पनि रिसाएर उनको पछि–पछि लागेका थिए ।

मेयर कोइरालाले आफूमाथि अपशब्द प्रयोग भएको दाबी गरे । आफूले दुर्व्यवहार नगरेको उनले प्रतिक्रिया दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.