
काठमाडौं । मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण र उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ ।
काठमाडौंमा मंगलबार आयोजित विपद व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिए । उनका अनुसार विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको हो ।
अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्ने तयारी भइरहेको जानकारी लेखकले दिए । आश्यकता अनुसार हेलिकोप्टर तयारी अवस्थामा राख्न सम्बन्धित सबै पक्षसँग समन्वय भइरहेको उनले बताए ।
उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायीलगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा लाग्नुपर्ने बताए । विपद् खोजिम न्यनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने लेखकको भनाइ छ ।
उनले सातैवटै प्रदेशमा रहेको आपतकालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । अहिले मनसुन प्रारम्भमा रहेको बताउँदै उनले सरकार विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सक्रिय रहेको जानकारी दिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विपद प्रतिकार्य तयारी एवं जोखिम न्यूनीकरणको तयारी बुझ्ने काम भएको उनले बताए । विपदका समयमा खोज तथा उद्धारका लागि तयारी अवस्थामा रहन उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

























