
विराटनगर । प्रमुख र उपप्रमुख बीचको झगडाका कारण सुनसरीको धरान उपमहानगरपालिकाको बजेट अन्योल भएको छ । संविधानतः स्थानीय तहहरूले बजेट ल्याउने दिन आज अन्तिम दिन हो ।
तर, आन्तरिक झगडाका कारण धरानले बजेट ल्याउन नसकेको हो । उपमेयर अइन्द्रविक्रम बेघाले उपमहानगरको बजेट अनिश्चित रहेको बताएका छन् ।
मेयर हर्क साम्पाङ नेतृत्वको बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसकेका कारण बजेटको काम अघि नबढेको उनले बताए ।
‘बजेट सीमा निर्धारण समितिको बैठक बस्न सकेको छैन,’ उनले भने, ‘सीमा निर्धारण समितिको बैठक बसेर सीमा तोकेपछि बजेट तर्जुमा समितिको बैठक बस्नुपर्छ ।’
तर्जुमा समितिको बैठकपछि विषयगत समिति र वडा समितिलाई सीमा पठाएर छलफल हुने बताउँदै उनले बजेट निर्माणको प्रक्रियामा प्रवेश नभएको बताए ।
राजस्व परामर्श समितिले भने प्रतिवेदन तयार पारेको छ । राजस्व परामर्श समितिको वैशाख ३० मा सम्पन्न बैठकले प्रतिवेदन तयार पारेर वैशाख ३१ मा मेयर साम्पाङलाई बुझाइसकेको छ ।
समितिले धरानमा १ अर्ब ६० करोडको सीमा दिएको थियो ।
श्रमदान विवादमा एकसाता अघि मेयर र उपमेयरबीच विवाद भएको थियो । विवादका कारण बजेट सीमा निर्धारण समिति बैठक अवरुद्ध बनेको थियो ।
काठमाडौंमा पनि मेयर बालेन साहले नगर सभा नबोलाउँदा अन्तिम दिनमा बजेट ल्याउन सकेनन् ।
























