
विराटनगर । प्रमुख र उपप्रमुखबीचको विवादका कारण सुनसरीको धरान उपमहानगरपालिकाले बजेट ल्याउन सकेन् । संविधानत स्थानीय तहहरुले बजेट ल्याउने दिन आज अन्तिम हो । तर आन्तरिक झगडाका कारण धरानले बजेट ल्याउन नसकेको हो ।
उपप्रमुख अइन्द्रविक्रम बेघाले उपमहानगरको बजेट अनिश्चित रहेको बताए । प्रमुख हर्क साम्पाङ नेतृत्वको बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसकेका कारण बजेटको काम अघि नबढेको उनले बताए । ‘बजेट आज आउनु पथ्र्यो तर आएन, उनले भने,‘ नगरप्रमखले प्रकृया अघि नबढाएका कारण नगरसभा भएन् ।’
उनका अनुसार बजेटका लागि राजस्व परामर्श समितिले १ अर्ब ६० करोडको सीमा दिएको थियो । अब सीमा निर्धारण समितिको बैठकले सीमा तोकेपछि बजेट तर्जुमा समितिले बजेट निर्माणको प्रकृया अघि बढाउँछ । तर प्रमुखको नेतृत्वमा रहेको सीमा निर्धारण समितिको बैठक बसेको छैन ।
‘सीमा निर्धारण समितिको बैठक राखेर वडाको सिलिङ र विषयगत सिलिङ तोकिएको छैन,’ उनले भने,‘ सीमा निर्धारण समितिको बैठक नबसेपछि कार्यपालिका बैठक बस्ने कुरा भएन ।’ कार्यपालिकाले पास गरेपछि मात्रै नगरसभामा बजेट जान्छ । उनका अनुसार बजेट नै अन्योल अवस्थामा छ ।
श्रमदान विवादमा एकसाता अघि मेयर र उपमेयरबीच विवाद भएको थियो । विवादका कारण बजेट सीमा निर्धारण समिति बैठक बस्न सकेको छैन ।
ग्रामथानमा एमाले– माओवादी विवाद
अध्यक्ष र उपाध्यक्षबीचको झगडाका कारण मोरङको ग्रामथान गाउँपालिकाको गाउँसभामा एमालेका जनप्रतिनिधि अनुपस्थित भएका छन् ।
बजेट सार्वजनिक गर्नका लागि आज गाउँसभा बोलाइएको थियो । तर अध्यक्ष नमोनारायण माझीसँग रिसाएकी उपाध्यक्ष गुणवतीदेवी थारुसहित नेकपा एमालेका जनप्रतिनिधि सभामा सहभागि भएनन् । एमालेको अनुपस्थितीमा बजेट ल्याएको ग्रामथान गाउँपालिका– ३ का वडा अध्यक्ष रमेशकुमार भगतले जानकारी दिए । भगत माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । गाउँपालिका अध्यक्ष नमोनारायण माझीले भने कुनै प्रतिकिया दिन मानेनन् ।
सोमबार पनि उच्च अदालत विराटनगरले अध्यक्षको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अध्यक्ष माझीले गत जेठ १ गते कार्यपालिकाको बैठक ११ वटा निर्णय गरी कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन दिएपछि उपाध्यक्ष गुणावती देवी थारुले अन्तरिम आदेशको माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेकी थिइन् ।
सोमबार दुवै पक्षको सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वय विमल सुवेदी र कृपासुर कार्कीको इजलासले अध्यक्ष माझीले गरेको निर्णय रिट निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।
जेठ १ मा गाउँ कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यहरूसँग विवाद भएपछि अध्यक्ष माझीले बैठक छाडेर बाहिरिएका थिए । अध्यक्ष हिंडेका कारण उपाध्यक्ष थारूसहित कार्यपालिकाका अन्य सदस्यहरूले निर्णय पुस्तिाकामा ‘कुनै निर्णय हुँदा हाम्रो मान्य हुने छैन’ भन्ने लेखेर हस्ताक्षर गरेका थिए । सोही बैठकको दोस्रो सत्रको उपस्थिति देखाएर ११ वटा निर्णय गरेको भन्दै गाउँपालिकाकी उपाध्यक्ष गुणावतीदेवी थारू अदालत गएकी थिइन् । आन्तरिक विवादका कारण पटकपटक गाउँपालिकाको मुद्दा अदालत पुगेको छ ।
























