
विराटनगर । ट्रक र ट्यांकर ठोक्किएर आज (बुधबार) बिहानका राति दुर्घटना हुँदा कोशी लोकमार्गअन्तर्गत विराटनगर बरगाछीको स्तम्भ भत्किएको छ ।
बरको बिरुवा रोपिएको स्तम्भ भत्किएर पूर्णरूपमा क्षति पुगेको हो । मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार नेमुवाबाट रानीतर्फ जाँदै गरेको यूपी २२ पी ९५७२ नम्बरको भारतीय ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२ ख ८८८८ नम्बरको ट्यांकर एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
दुर्घटनामा ट्यांकर चालक बाराको अमलेखगन्जका ३३ वर्षीय पञ्चलाल लुम्बा घाइते भएका छन् । सामान्य अवस्थाका उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।
दुईवटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा बरगाछी चोकको बीचमा रहेको स्तम्भ भत्किएको इन्स्पेक्टर लम्सालले बताए । दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन् । ट्रक चालक भारत उत्तर प्रदेशका ३२ वर्षीय मोहमद मुस्ताकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
ट्यांकरले हतारमा बाटो काट्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बरगाछी चोकको बीचमा यसअघि आइल्याण्ड (स्मारक) थियो । बारम्बार दुर्घटना हुँदा आइल्याण्डमा पनि क्षति पुगेको थियो ।
व्यस्त सडकको बरगाछी चोकमा जबरजस्ती स्मारक र सालिकहरू राख्दा बारम्बार सवारी दुर्घटना हुँदै आएको छ । चोकमा नेपाली कांग्रेसले राखेको कृष्णप्रसाद कोइरालाको सालिकमा समेत यसअघि मालवाहक कन्टेनर ठोक्किएर क्षति पुगेको थियो ।
कोइरालाको सालिक भत्किँदा ट्रक सडकमै पल्टिएर क्षतिग्रस्त भएको थियो । १ जना गम्भीर घाइते भएका थिए । पहिले ऐतिहासिक बरको रुख रहेको उक्त चोकमा व्यापारिक सडक निर्माण गर्ने क्रममा रुख काटिएको थियो । त्यसपछि उक्त स्थानमा लायन्स क्लबले सिमेन्ट प्रयोग गरेर गाछीको स्मारक बनायो ।
उक्त स्मारक पनि रातको समयमा मालवाहक सवारीसाधनले ठक्कर दिँदा भत्कियो । बरगाछी झल्किने गरी बरको रुखसहित बनाइएको स्मारक सवारीसाधनको ठक्करबाट भत्किने र बन्ने क्रम बारम्बार चलिरहयो । त्यसपछि उक्त स्थानमा नेपाली कांग्रेस विराटनगर महानगर समितिले कृष्णप्रसाद कोइरालाको सालिक स्थापना गर्यो ।
सालिक भत्किएपछि स्तम्भ बनाएर बरको रुख रोपिएको थियो । ढुवानीका साधन ठोक्किएर दुर्घटना हुँदा उक्त स्तम्भ पनि क्षतिग्रस्त बनेको हो । बरगाछीजस्तो व्यस्त चोकमा सिमेन्टी गाछी, स्मारक र स्तम्भहरू बनाउन उचित नहुने भन्दै स्थानीयले विरोध गर्दै आएका छन्।


























