
काठमाडौं । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री आफू नै भएको दाबी गर्दै दायर गरेको रिटमाथि आज (बिहीबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी चढेको छ । ढकालले आफू नै रास्वपाको महामन्त्री रहेको र सोही हैसियतमा काम गरिपाउँ भन्दै सर्वोच्चमा बिहीबार नै रिट दायर गरेका थिए ।
उनले रास्वपाको केन्द्रीय कार्यालय , महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टीको प्रवक्ता मनिष झा र पार्टी सभापति रवि लामिछानेलाई प्रतिवादी बनाउँदै रिट दायर गरेका हुन् । रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ।
ढकालले आफूलाई कारबाही गर्ने पार्टीको निर्णयविरुद्ध निर्वाचन आयोगमा पनि निवेदन दिएका थिए । आफ्नो कारबाहीका बारेमा पार्टीको कुनै पनि पत्र अद्यावधिक नगर्न आयोगलाई उनको आग्रह छ ।
पार्टी अनुशासनविपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै रास्वपाले १ वर्षअघि उनलाई महामन्त्री, केन्द्रीय सदस्य र साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेको थियो। पार्टीले आफूलाई गरेको कारबाही अवैधानिक भएको दाबी ढकालको छ ।
























