
विराटनगर । विराटनगरको ट्राफिक चोक, जहाँ सहरको मुटु धड्किन्छ, मान्छेहरू हतारिएका हुन्छन् । तर, यही भिडमा मोहमद यासिर आफ्नै धुनमा हराइरहेका हुन्छन् ।
उनी न कुनै सरकारी सुविधा पाउँछन्, न त सञ्चारमाध्यमको नजरमा पर्छन् । तर, विराटनगरको इतिहास र श्रमको भूगोलमा उनी एउटा जीवित दस्तावेज हुन्।
उमेरले ६४ वर्ष पुगेका यासिर ४ दशकदेखि एकै ठाउँमा बसेर पुरानो छाता बनाउँछन् । सहर बदलियो, साँघुरो सडक फराकिलो भयो, विराटनगर डिजिटल भयो, पसलहरू थपिए, एउटा पुस्ता हरायो, अर्को जन्मियो । तर, उनी अझै उही ठाउँमा छन्। पुरानो साइकल, खिया परेको सियो र धागो तथा ग्राहकको च्यातिएका छाताहरू।
छाता बनाउन ल्याउनेहरू पनि बदलिएका छन् । पहिला बाबु आउँथे, अहिले छोराछोरीहरु । उनी भन्छन्, ‘म ४० सालदेखि यहीँ ठाँउमा छु । सडक, मान्छे सबै फेरिए ।’
उमेरले विस्तारै डाँडा काट्दै छ । कालो कपाल फुलेर हिँउ झैँ सेताम्म भएको छ । तर, उनको च्यातिएको छाताजस्तै जिन्दगी सिउने धैर्य बाँकी छ । पुरानो छाता बनाउँदा बनाउँदै कहिलेकाँही आफ्नै जिन्दगी बनाउन भुले झैँ लाग्छ उनलाई ।
किनकि बर्खामा ओत लाग्ने छाता बनाउँछन् । हिउँदमा न्यानो बनाउने सिरक सिलाउँछन् । उनी हाँस्दै भन्छन्, ‘वर्षाको मौसममा म छाता बनाउन बस्छु । जाडोमा सिरक बनाउँछु । यसरी नै चलेको छ जिन्दगी।’
अनुहारमा थाकेका रेखाहरू छन् । तर, हातको कौशलमा कुनै थकान छैन। उनी दिनभरि ट्राफिक चोकको एक कुनामा बसेर छाता सिउँछन् । कुनै दिन सिरक बनाउँछन्। वर्षा र जाडोको मौसमसँगै उनको सीपको माग फेरिन्छ।
हुन त सहर मात्रै बदलिएको छैन । उनको परिवारका सदस्यमा छोराछोरी पनि हुर्किए । आ—आफ्नो बाटो लागे । अहिले परिवारमा श्रीमानश्रीमती मात्रै छन् । घरगृहस्थी यही पुरानो छाता र सिरकले धानेको उनी सुनाउँछन् ।
‘दिनको २ सय जति हुन्छ । एउटा छाता बनाएको लागत र समय खर्च भए अनुसार पैसा लिन्छु,’ उनी भन्छन् ,‘सागसब्जी खाने पैसा हुन्छ ।’ चोकको पोटीमा बसेर उनले थुप्रै आन्दोलन नियालेका छन् । तर, देशको ठुल्ठूला आन्दोलन र राजनीतिक परिवर्तन भन्दा पनि उनको सम्झनाको घडीको काँटा २०३६ सालमै अडिएको छ ।
उनको जीवनको सबैभन्दा बलियो अध्याय सिरक वा छातामा होइन, जुट मिल्सको कालो धुवाँभित्र लुकेको छ। उनले २०३६ सालको आन्दोलन याद गर्छन्, जब उनी विराटनगर जुट मिल्समा मजदुर थिए । जुट मिल्समा काम गर्थे । त्यही मिलको कालो धुवाँसँगै मजदुरको आवाज बनिन्थे।
‘त्यो बेला मेरो मात्रै होइन । मजस्तो श्रमिकका लागि बोलेका थियौँ,’ उनी गर्वका साथ भन्छन्, ‘त्यो बेला जुट मिल्समा काम गर्दै गर्दा मजदुर आन्दोलनमा पनि लागेको थिएँ ।’
राजनीति र नेताहरुको खेलले जुट मिल्स बन्द भएको धुमिल याद छ उनीभित्र । आफू सँगै सयौं मजदुर बेरोजगार भएको त्यो कठोर दिन सम्झन चाहँदैनन् । तर, उनको जिन्दगी त्यही दिनदेखि अर्को मोडमा हिँडेकाले कुरैकुरामा गफ गर्न भ्याउँछन् ।
‘जुट मिल्समा काम गुमेपछि कता जानु ? ,उनी सम्झन्छन्, ‘त्यसपछि मैले पुराना छाता र सिरक डसना सिलाउन थाले ।’ जुट मिल्स बन्द भयो । बेरोजगार भएर श्रमिकहरू छिन्नभिन्न भए । उनी पुरानो छातामा टालो लगाउँदै आन्दोलनको आत्मा सिउँदैछन्। उनको जीवन आफैँ एउटा उपन्यास हो ।
जुन देशले उनीजस्ता श्रमिकका सपनाहरू कागजमा मात्र लेखेर राख्यो । त्यस देशको यथार्थ अझै पनि उनको जस्तो जीवनले बोकेको छ । सहरको ट्राफिक चोक अब नयाँ पुस्ताका लागि फोन चलाउने, भिडभाड पार गर्ने ठाउँ हुन सक्छ । तर, यही ठाउँ मोहमद यासिरका लागि जीवनको गन्तव्य हो ।
उनी चुपचाप सहरको परिवर्तन हेर्छन् । परिवर्तनले उनलाई छुन सकेको छैन । बरु उनले पुरानो विराटनगरलाई आफैँमा समेटेका छन् । छाता बनाउने सियोले उनले सहरको अनुहार सम्झन्छन्, सिरकको सिलाइले आफ्नो गुमेको श्रम सम्झन्छन्। उनी आफैँ एउटा बाँकी रहेको इतिहास हुन् । कसैले नलेखेको, कसैले नहेरेको तर, साँचो र जीवित इतिहास हुन् ।
























