
विराटनगर । काेशी प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले याे पटक बजेटमा चरम दाेहन र लुटपाट भएकाे आराेप लगाएका छन् । शुक्रबार विशेष समयमा बोल्दै आङ्बोले असन्तुष्टि जनाएका हुन् । शुक्रबार नै बजेट पारित भइसकेकाे छ ।
कोशी प्रदेशको विनियोजन विधेयक (बजेट)माथिको छलफलका क्रममा मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग र तथ्याङ्क पनि हावादारी प्रस्तुत गरेको उनको गुनासो छ ।
बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा बुधबार भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले राजेन्द्र राई मुख्यमन्त्री र इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री हुँदा बजेटको थिति बिग्रीएको बताएका थिए ।
पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले जवाफ दिने क्रममा धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । विशेष समयमा बोल्ने क्रममा आङ्बोले अहिले बजेटमा चरम दोहन र लुटपाट भएको बताए । ‘यो पटक स्रोतमा चरम दोहन भएको छ, लुटपाट भएको छ,’ उनले भने,‘तपाईले हप्काएको भरमा स्वर सानो हुँदैन ।’
सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्रीहरुले असन्तुलित, धम्कीपूर्ण भाषा प्रयोग गरेको बताउँदै उनले गलत तथ्याङ्क पनि प्रस्तुत गरेको बताए ।
‘सांसदले उठाएको प्रश्नमा मन्त्रीले दिएको जवाफ सन्तुलित छैन, मन्त्रीले त भरसक राम्रो गर्न खोजेका छौं सीमा कमजोरी भयो भने सच्याउँछौं भनेर बिनम्रता प्रस्तुत गर्ने होला नि सदनमा’ उनले भने,‘ ‘तपाई सदनलाई हप्काउनु हुन्छ, सांसदलाई हप्काउनु हुन्छ,अनि संसदले टेर्छ ?’
उनले सांसदलाई हप्काएर नियन्त्रणमा राख्ने मुर्खता नगर्न आग्रह गरे । ‘सांसदलाई हप्काएर नियन्त्रणमा राख्छु या दवाबमा राख्छु भन्ने कसैले सोच्छ भयो यो मुर्खता यो प्रणालीमा गर्न मिल्दैन ।’
‘संसदीय दल भित्र आफ्ना सांसदलाई हप्काउनुहुन्छ कि गाली गर्नुहुन्छ कि आलोचना गर्नुहुन्छ, के के गर्नुहुन्छ त्यो तपाईहरुको आफ्नो आन्तरिक मामिला हो,’ उनले भने,‘ तर संसद सरकारको नियन्त्रणमा बस्दैन ।’
भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले पूर्वमुख्यमन्त्री राजेन्द्र राई पालादेखि नै बजेटको थिति बिग्रिएको बताएका थिए । राईले ०७९–०८० मा आङ्बोको जिल्ला पाँचथरमा एक अर्ब र राजेन्द्र राईको जिल्ला भोजपुरमा दुई अर्ब २७ करोड बढी बजेट गएको उल्लेख गरेका थिए । आङ्बोले २०७९–८० मा भोजपुर र धनकुटा हेर्ने कार्यालयले १ अर्ब ३६ करोड बजेट विनियोजन भएको बताए । पाँचथर र ताप्लेजुङ हेर्ने डिभिजनलाई १ अर्ब ६ करोड बजेट विनियोजन भएको बताए । मन्त्रीले आफ्नो कमजोरी ढाकछोप गर्न गलत तथ्याङ्क प्रस्तुत गरेको उनको आरोप छ ।
बजेटमाथिको छलफलमा सहभागिता जनाएका एमालेका केही सांसद बाहेक सबैले प्रदेशको बजेट मन्त्री र मुख्यमन्त्रीको कार्यक्षेत्रमा बजेट केन्द्रीत गरेको गुनासो गरेका थिए ।
प्रदेशका समानुपातिक सांसदलाई १ करोड ५० लाख र प्रत्यक्ष निर्वाचित सांसदसँग २ करोड ५० लाखको योजना माग गरेर सरकारमा सहभागि मन्त्रीले अधिकांश बजेट आफ्नो क्षेत्रमा केन्द्रीत गर्दा सांसद रुष्ट छन् ।

























