
विराटनगर । ‘शान्त, चम्किलो र सुगन्धित हावाको केन्द्र थियो सगरमाथा,’ एकपटक सगरमाथा शिखर चुमेका र ५ पटक सम्म यस क्षेत्रमा पदयात्रा गरेका दा लाक्पा शेर्पाको अनुभव हो यो । सोलुखुम्बु सोताङ–४ का उनी हिमालय पदयात्री हुन् । सन् २०२१ देखि यो क्षेत्रमा आबद्ध भएर अझ नजिकबाट उनले सगरमाथालाई नियालेका छन् ।
तर, पहिलेको जस्तो दृश्य देखिन छाडेको बताउँछन् उनी । आजभोलि सगरमाथाको सौन्दर्य हराउँदैछ । हिमाल काला हुँदैछन् । ‘पहिले जस्तो हिउँको उज्यालो छैन,’ उनी भन्छन्, ‘अहिले त पानीको स्रोतहरू फोहोर छन् । हिमालको छेउछाउमा प्लास्टिकका पोका, खाना, क्यानका थुप्रै फोहोरले भरिएका छन् ।’ उनका अनुसार बेस क्याम्पभन्दा माथिका क्याम्पहरूमा प्लास्टिकका झोला हिउँसँग बगिरहेका भेटिन्छन् ।
उनको अनुसार ग्लारिक हिमालय ट्रक्सले ‘नो ट्रेस पोलिसी’ अपनाएको पनि छ । त्यसो त स्थानीय पालिकाले हिमाल चढ्दा आफ्नो फोहोर आफैसँग बोकेर दिसासमेत प्लास्टिकमा संकलन गरेर बेस क्याम्पमा ल्याउँछन् र सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)लाई जिम्मा दिइने नियम पनि बनाएको छ ।
‘कतिपय आरोहीले हिउँमै खाल्डो खनेर गाड्ने गरेका पनि छन्,’ उनी भन्छन्, ‘तर त्यो स्थायी समाधान होइन ।’ तर, पनि उचाइमा विशेष गरी मानव मलमूत्र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनको भनाई छ ।

ट्रेक सुरु हुनुअघि ‘गाइड’ मार्फत पर्यटकलाई नियम बताइन्छ । फोटो, भिडियो मार्फत सामाजिक सन्देश फैलाउन पनि प्रयास हुन्छ । तर, सबैले पालना गरे जस्तो अनुभूति नभएको उनले बताए । पछिल्लो समय बढ्दो चाप र फोहोर व्यवस्थापनले हिउँको रूपान्तरण र जलवायु संकट निम्त्याउँदै गएको उनको भनाई छ ।
‘पहिले सगरमाथामा हिउँ स्थिर थियो,’ उनी चिन्ता व्यक्त गर्दै भन्छन्, ‘अब त हराउँदै गएको जस्तो अनुभूति हुन्छ ।’ हिउँ पग्लिएर कालो ढुंगा देखिनु, हिउँ पग्लिएर बाटो बदलिँदै जानु, बेमौसमी वर्षा र पहिरोले यात्रालाई कठिन बनाउनु जलवायु परिवर्तनका संकेत रहेको उनी बताउँछन् ।
स्थानीय वनस्पति, जडीबुटी र त्यस क्षेत्रमा मात्रै पाइने जनावरहरू पनि लोप हुने अवस्थामा पुगेको उनको भनाई छ । उनका अनुसार निकुञ्जभित्र ड्रोन उडान रोकिएको छ । बिना अनुमति पर्वतारोहण गर्न नपाइने भनिएको छ । तर उनी भन्छन्, ‘कतिपय ट्रेकिङ कम्पनी बिना परमिट पर्यटकहरू हिमाल चढाइरहेका छन् ।’ स्थान–स्थानमा फरक–फरक शुल्क लाग्ने, गन्तव्य एकै भए पनि निकुञ्ज र गाउँपालिकाको दोहोरो शुल्कले पर्यटकहरूमा भ्रम उत्पन्न भएको उनले बताए ।
‘पहिला पर्यटक सयौँ आउँथे । अहिले ५० हजारभन्दा बढी पर्यटक हरेक वर्ष सगरमाथा क्षेत्रमा प्रवेश गर्छन्,’ उनी भन्छन्, ‘पर्यटन आउनु आर्थिक समृद्धिको एउटा सबल पक्ष हो तर, मान्छेको चापले पनि हिमालको शान्तपन र अस्तित्व मेटिँदै गएको छ, केही समयलाई रोकेर हिमाल सरसफाइको अभियानलाई पनि ध्यान दिन सरकारले चासो राख्नु आवश्यक छ ।’

होटेल, लज, वासस्थान सबै भरिने भएकाले ‘प्रि–बुकिङ प्रणाली’ जरुरी भएको उनको सुझाव छ । सरकारले ट्रेकिङ र बेसक्याम्प क्षेत्रको भार कम गर्न दैनिक पर्यटक सीमा, कोटा प्रणाली र शौचालय तथा फोहोर संकलन केन्द्र अनिवार्य बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
स्थानीयको कस्तो छ भूमिका ?
पर्यावरण सफा राख्न शेर्पाहरू नै अगाडि रहेको उनको भनाई छ । दा लाक्पा गर्वका साथ भन्छन्, ‘हामीले हाम्रो भूगोल माया गरेका छौँ ।’
अहिले स्थानीयहरू कृषि छोडेर पर्यटन व्यवसायसँग जोडिएको बताउँदै उनले वातावरण संरक्षणमा स्थानीयको भूमिका पनि दर्बिलो हुनु जरुरी रहेको उल्लेख गरे । ‘सगरमाथा हिजो जस्तो छैन । अहिले ऊ आफ्नो अस्तित्व खोज्दै छ । उनले भने, ‘हामीले बचाएनौँ भने ऊ एक दिन हराउन सक्छ ।’

























